झापा। झापाको पूर्वी नाका काँकरभिट्टाबाट ३२ करोड रुपैयाँ भन्दा बढीको सिमेन्ट निर्यात भएको छ ।
काँकरभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८०–०८१ मा ३२ करोड ६६ लाख पाँच हजार सात रुपैयाँ मूल्य बराबरको ४९ हजार ९५९ टन सिमेन्ट निर्यात भएको कार्यालयले जनाएको छ ।
नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण भारतमा यसको माग सन्तोषजनक रहेको उद्योगीहरूको भनाइ छ । अहिले नेपालमै कच्चा पदार्थ क्लिंकर पाइने भएकाले निर्यात बढ्दै गएको कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताउनुभयो । सरकारले सिमेन्ट निर्यात बढाउन आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ ।