मेचीनगर । झापा भद्रपुरका निश्चल राजभण्डारीको सवारी दुर्घटनामा परी काठमाण्डौमा मृत्यु भयो । भक्तपुरको सानो ठिमीमा चार दिनअघि भएको स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका राजभण्डारीको उपचारका क्रममा मृत्यु भएको हो । बाटो काट्दै गरेको कुकुरलाई बचाउने क्रममा स्कुटर अनियन्त्रित भएर श्रीमतीसहित उनी दुर्घटनामा परेका थिए ।
नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीका अध्यक्ष नेत्रप्रसाद रिजाल पुष १३ गते साँझ ५बजे आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी घाइते भए । सडकमा अचानक कुकुरले बाटो काट्दा सो दुर्घटनामा भएको थियो ।
मेचीनगरको भूमि शाखामा कार्यरत कर्मचारी सरोज अधिकारी सवार मोटरसाइकलमा अचानक कुकुर ठोक्किन आइपुग्दा ठूलो दुर्घटना भयो । तर, जसोतसो उनको ज्यान जोगियो । चार दिन अस्पताल बसेर मेजर शल्यक्रियापश्चात् उनी घर फर्किए ।
मेचीनगर नगरपालिका नगर प्रमुखको सचिवालयका स्वकीय सचिव आशिष पौडेल केही महिनाअघि दुर्घटनामा परे । अस्पताल बसेर हातको शल्यक्रिया गरेर फर्किए । केही दिन अघिमात्र कुकुरकै कारण मेचीनगर—१२ सहरेडाँगीका तीर्थ घिमिरे पूर्वपश्चिम लोकमार्गको बिर्तामोडस्थित बुट्टावारीमा दुर्घटनामा परी गम्भीर घाइते भए । मेचीनगर—४ को बाहुनडाँगीबाट काँकरभिट्टातर्फ आउँदै गर्दा एकजना सञ्चारकर्मी पनि कुकुरकै कारण दुर्घटनामा परेका थिए ।
यी माथिका सडकमा सवारी चलाउँदा कुकुरसँग ठोक्किएर हुने सवारी दुर्घटना र त्यसबाट हुने क्षतिका प्रतिनिधि घटनामात्र हुन् । हरेक वर्ष कुकुरकै कारण हुने सवारी दुर्घटनाबाट धनजनको ठूलै क्षति हुने गरेको छ । दुई पाङ्ग्रे मात्र होइन, चार पाङ्ग्रे सवारी साधनसमेत बेला बखत कुकुरसँग ठोक्किएर दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ । चार पाङ्ग्रे सवारी साधन कुकुरसँग ठोक्किएपछि उनीहरु बीमाका लागि प्रहरीसँग कागजात बनाइदिन भन्दै आउने गरेका छन् । यो बर्षमा मात्र ४५ वटा सिफारिस बनाइदिएको प्रहरीको भनाई छ । विज्ञहरुका अनुसार चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारण हुन् । पछिल्लो समय भने सडकमा हिड्ने कुकुरसमेत दुर्घटनाको कारण बनेको ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमको भनाई छ ।
‘कुकुरसँग ठोक्किएका घटना थुप्रै छन्’ ट्राफिक प्रहरी नायव निरीक्षक गौतमले भने‘ तर,यसबाट मानवीय क्षति कम हुन्छ। यदि तीब्र गतिमा सवारी साधन चलाएको छ भने मानिसको मृत्यु पनि हुन सक्छ ।’
सामुदायिक कुकुरसमेत दुर्घटनाको कारण बन्दैं गएका छन् । यस्ता कुकुरहरुको नियन्त्रणमा लाग्नुपर्ने स्थानीय भरतकृष्ण थापाको भनाई छ । बेलैमा यस्ता कुकुर नियन्त्रण नगरे अझ ठुल्ठुला दुर्घटना हुने र त्यसबाट ठूलो मात्रामा धनजनको क्षति बेहोर्न बाध्य हुनुपर्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको थापाले औल्याएका छन् ।