बुद्धशान्ति गाउँपालिका एकसातालाई सिल
तीर्थ तिम्सिना/सुरज दंगाल, बुद्धशान्ति – पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना संक्रमित दिनानुदिन बढ्दै गएको भन्दै बुद्धशान्ति गाउँपालिका सिल गरिएको छ । सोमबार गाउँकार्यपालिकाको बैठकले आज मंगलबार राति १२ बजेदेखी लागूहुने गरि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनुभएको छ ।
पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भुजेलले बताउनुभयो ।
कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँपालिका बासीलाई सुरक्षीत राख्न बाध्य भएर सिल गरिएको बताउँदैै अध्यक्ष भुजेलले सबैलाई अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने, अत्यावश्यक सेवा भने सञ्चालन गरिने उहाँको भनाइ छ ।
वडाहरुमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले दोस्रो लहरको कोभिड–१९ को भेरियन्टमा बुद्धशान्तिमा १४ जनाको मृत्यु भइसकेको बताउनुभयो । पालिकाभित्र हालसम्म ३५० बढी सक्रिय सङ्क्रमित रहेका छन् ।