गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन्। बिहीवार ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उनले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका हुन्।
गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले गठ्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? भन्नेबारे गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिए।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ।