Search
Close this search box.
Search
Close this search box.

गाउँ-गाउँमा लुकेका प्रतिभा खोज्दै रोङ, ‘रोङ गट ट्यालेन्ट’का लागि आवेदन खुल्ला

रोङ । इलामको रोङ गाउँपालिमा गाउँ गाउँमा लुकेका प्रतिभा खोजी हुने भएको छ । गाउँपालिकाले रोङ प्रतिभा खोजी कार्यक्रम गर्न लागेको हो । गायन, नृत्य र साहित्य क्षेत्रको प्रतिभालाई बाहिर ल्याउन रोङ प्रतिभा खोजी कार्यक्रम आयोजना गर्न लागेको हो । रोङ गाउँपालिकाको आयोजना र रोङ विद्यार्थी एकता समितिको सहआयोजनामा प्रतिभा खोजी गर्न लागिएको बिहीबार पत्रकार सम्मेले आयोजना गर्दै जानकारी दिइएको हो ।

गायन, नृत्य र कविता लेखनमा दख्खल भएका प्रतिभालाई अवसर दिन यो कार्यक्रम आयोजना गरिएको रोङ प्रतिभा खोजी निर्देशक समितिका संयोजक प्रमेश राईले बताएका छन् । ‘गाउँ–गाउँमा प्रतिभाहरू लुकेर रहेका छन् । यस्ता प्रतिभाको प्रष्फुटनका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘यो कार्यक्रमले गाउँमा लुकेका प्रतिभालाई राष्ट्रसामु चिनाउनेछ । रोङमा रहेका स्थापित प्रतिभाहरूले सम्मानित हुने मञच पाउनेछन् । नयाँ प्रतिभाका लागि परिचित हुने अवसर हुनेछ ।’

कार्यक्रमको सहआयोजक रोङ बिद्यार्थी एकता समितिका अध्यक्ष तथा प्रतिभा छनोट निर्देशक समिति सदस्य विमल कट्टेलले पालिका स्तरले गरेको यो कार्यक्रम नेपालकै पहिलो भएको बताए । ‘रोङ गट ट्यालेन्ट’ मा अधिकांश प्रतिस्पर्धीहरु बिद्यार्थी हुने भएकाले पनि रोङ बिद्यार्थी एकता सहआयोजकको रुपमा रहेको उनले बताए ।

प्रतिभा खोजी चार चरणमा हुने आयोजकले जनाएको छ । प्रारम्भिक चरणमा रोङभित्रका ६ वटै वडाबाट प्रतिभा छनोट हुने छन् । त्यसका लागि वडामा अडिसन राखिने निर्देशक समिति सदस्य गृष्मा सापकोटाले जानकारी दिइन् । यसका लागि इच्छुकले ९ जेठबाट १६ जेठसम्म वडा कार्यालय पुगेर फारम भर्न सक्ने छन् ।

यस्तै, पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछ । त्यस चरणमा ६ वटा वडालाई तीन समूहमा विभाजन गरेर प्रत्येक समूहबाट तीनवटै विधामा १५÷१५ जना गरी एउकटा विधामा ४५ जना छनोट हुने सापकोटाले बताइन् । दोस्रो चरणमा प्रत्येक विधामा १५÷१५ जना प्रतिभा छनोट हुनेछन् । यसलाई सेमीफाइनल चरण भनिने आयोजकले जनाएको छ । अन्तिम चरणलाई फाइनल चरण भनिनेछ । यसमा प्रत्येक विधामा ५÷५ जना प्रतिभा छनोट गरेर उत्कृष्टलाई पुरस्कृत गरिनेछ । तीनवटै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पाउने आयोजकले जनाएको छ । कार्यक्रममा निर्णायक भने रोङ बाहिरका हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि ११ लाख ६२ हजार पाँच सय बजेट लाग्ने आयोजकको अनुमान छ । जसमध्ये गाउँपालिकाले आठ लाख रकम ब्यहोर्नेछ । बाँकी प्रायोजकबाट खोज्नुपर्नेछ । ‘विकास भनेको भौतिक पूर्वाधारको विकास मात्र हैन । यहाँका प्रतिभाको खोजी गरेर उनीहरूलाई प्रष्फुटन गर्नु पनि विकास हो । मानव जीवनको समग्र पक्षको विकास हुनुपर्छ भन्ने गाउँपालिकाको निष्कर्ष हो,’ रोङकी उपाध्यक्ष विष्णुमाया भुजेलले भनिन्, ‘गाउँमा पुग्दा धेरै राम्रा प्रतिभा हामीले देखेका छौँ । उनीहरूलाई बाहिर ल्याएर राष्ट्रसामु चिनाउनु गाउँपालिकाको दायित्व पनि हो ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *