Search
Close this search box.
Search
Close this search box.

च्याङग्रा बेचेरै मुस्ताङमा भित्रियो ३५ करोड

म्याग्दी – मुस्ताङबाट यसपालीको दसैँ तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले १० हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दससैँमा सात हजार र तिहारमा तीन हजारओटा च्याङग्रा निकासी भएको जानकारी दिए । ‘स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्,’ उनले भने, ‘कृषकले गोठबाटै प्रतिगोटा रु. ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।’ तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि विगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।

EPIC EPIC EPIC

अघिल्ला वर्षहरूमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन् । व्यापारीहरूले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए ।

पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शुल्क तिर्नुपर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरूसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।

कार्यालयका नुसार, यस वर्ष मुस्ताङबाट ठुलो सङ्ख्यामा च्याङग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन् ।

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरूले बताएका छन् । जोमसोम पुगेर दुईसय च्याङ्ग्रा खरिद गरेका काठमाडौका प्रदीप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु. पाँच देखि १० हजारसम्म बढी तिर्नुपरेको बताए ।

‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गर्थ्याैँ, यो वर्ष ३५ हजार सम्म परेको छ,’ उनले भने, ‘खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङग्रा बेच्न गाह्रो भयो ।’ मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङग्रा निकासी भएको हो ।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरू बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडिबुटीहरू खाने भएकाले दसैँ तिहार जस्ता पर्वहरूमा पोसिलो मासुको रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।

च्याङग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङग्रापालनको प्रर्वद्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *