धरान (पालिका सन्देश )- बुधबारे जेसीजले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङ्पाङलाई सम्मान गरेको छ। बुधबारे जेसीजको जेसीज सप्ताहको पहिलो कार्यक्रमको रुपमा मेयर रार्इलाई सम्मान गरिएको कार्यक्रम संयोजक दुर्योधन सिंहदेवले बताएका छन्।
‘हर्कराज राई सम्मान तथा आन्तरिक पर्यटन प्रबर्द्धन’ कार्यक्रममा बोल्दै बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले साङपाङ्को जितले युवावर्ग र आम सर्वसाधारणमा खुशीयाली छाएको बताए।
‘स्वतन्त्र उम्मेदवारको रुपमा सर्वसाधारणको सेवा गरी लामो संघर्ष पछि जिम्मेवार ठाउँमा पुग्न सफल ब्यक्तिलाई सम्मान गर्न पाँउदा बुधबारे जेसीज हर्षित छ अध्यक्ष भट्टराईले भने’।
बधाई तथा सम्मान ग्रहणपछि बोल्दै धरान उप-महानगरपालिकाका मेयर हर्कराज साङपाङले आँफुले धेरै काम गर्न बाँकी रहेको बताए।
उनले भने, ‘स्वतन्त्र उम्मेदवार भनेर धेरै एक्लो मान्छे सम्झिए तर म सँग आम मानिस रहेछन्, अहिले म जनताको सेवक र कर्मचारीको बोस हुँ, काम गर्न धेरै छ,धराने जनताको मत जितेर यहाँ आए अब काम गरेर मन जित्नेछु।’
देशभरका युवाको साथ पाएको भन्दै साङपाङले बुधबारे जेसीजले आयोजना गरेको कार्यक्रमले आँफूमा काम गर्न उर्जा थपिने बिश्वास ब्यक्त गरे। व्यस्त तालिका बिच भएको भेटवार्तामा अध्यक्ष साङपाङले जनताको सेवा गर्ने क्रममा आँफू धेरै पटक एक्लै भएर पनि हरेश नखाएको अनुभव सुनाएका थिए।
सम्मान कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी दिपेन्द्र निरौला, बुधबारे जेसीजका पुर्व अध्यक्षहरु एवं बुधबारे जेसीजका पदाधिकारीहरुको सहभागिता थियो।
कार्यक्रमको संचालन बुधबारे जेसिजका महासचिव अर्जुन ढकालले गरेका थिएभने उपाध्यक्ष बिष्णु लामिछानेले शाखा परिचय गराएका थिए।