दमक, झापा। जननेता मदनकुमार भण्डारीको जन्मजयन्तीको अवसरमा झापाको दमकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

मदन भण्डारी फाउन्डेसन झापा शाखाको आयोजनामा असार १४ गते बिहान ७ बजेदेखि दमकस्थित गणतन्त्र चोकमा रहेको आरम्भ कम्प्युटर अगाडि रक्तदान कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा, दमकले प्राविधिक सहयोग उपलब्ध गराउनेछ। अस्पतालहरूमा आवश्यक रगतको आपूर्ति सहज बनाउनुका साथै रक्तदानमार्फत मानवीय सेवाको भावना प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ।

जननेता मदनकुमार भण्डारीको योगदानको स्मरण गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले समाजमा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। भण्डारीको जन्मजयन्ती प्रत्येक वर्ष विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रममार्फत मनाइँदै आएको छ।
आयोजकले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति प्रतिबद्ध नागरिकहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ। रक्तदानले बिरामीहरूको जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याउने भएकाले कार्यक्रममा उत्साहजनक सहभागिता रहने विश्वास आयोजकको छ।




















