बुधबारे। बुद्धशान्ति गाउँपालिका -२ स्थित जयपुरमा सातौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । नव ज्योति युवा क्लबको आयोजनामा आजदेखि २० गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुने क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।
प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः एक लाख ५० हजार रुपैयाँ र ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
बुद्धशान्ति गाँउपालिका, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित १२ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको भनाई छ । २०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । कार्यक्रम आज दिउँसो २ बजे उद्घाटन हुदैछ ।
