बुद्धशान्ति । बुद्धशान्तिका युवाहरूको सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटीले आज एक कार्यक्रमकाबीच गाउँपालिकालाई शववाहन हस्तान्तरण गरेको छ ।
संस्थाले शववाहन हस्तान्तरण गरेसँगै बुद्धशान्तिमा पहिलो शववाहन सञ्चालनमा आएको हो । मानिसको मृत्युपछि अस्पतालबाट शव घरसम्म ल्याउन वा अन्तिम संस्कारका लागि घरबाट घाट सम्म पुर्याउन सहयोग पुर्याउने उद्दश्यले शववाहन खरिद गरी गाउँपालिकालाई बुझाएका हुन्। गाउँपालिकाले आफ्नो मातहतको स्थानीय अस्पताल भागीरथा बुद्धशान्ति अस्पतालको जिम्मामा सञ्चालन गर्नेगरी सो शववाहन आजै प्रदान गरेको छ ।
पालिकालाई शववाहन हस्तान्तरण गर्दै संस्थाका कार्यवाहक अध्यक्ष अनिल वाग्लेले बुद्धशान्तिमा शववाहनको आवश्यकता महसुस गर्दै शववाहन खरिद गरिएको बताए । शववाहनले बुद्धशान्ति गाउँपालिका, रोङ गाँउपालिका, मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका लगायतका क्षेत्रमा सेवा प्रदान गर्ने जनाईएको छ ।
करिव ५ वर्ष अघिबाट शववाहन खरिद गर्ने उद्देश्य राखेर महोत्सव, सामाजिक कार्यक्रम गरी संकलित रकममा बुद्धशान्ति गाउपालिका र देश विदेशमा रहेका मानिसहरूको सहयोगबाट शववाहन खरिद गरिएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै पालिका अध्यक्ष मनोज प्रसाईले शववाहन खरिद गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए । शववाहन हस्तान्तरण कार्यक्रममा पालिका उपाध्यक्ष भवानी खतिवडासहित वडाध्यक्षहरु, संस्थाका पदाधिकारीको उपस्थिति रहेको संस्थाका सचिव गोकुल पौडेलले जानकारी दिए । शववाहनले बुद्धशान्ति गाउपालिका अन्तर्गत भागीरथा बुद्धशान्ति अस्पतालमा रहेर सेवा प्रदान गर्ने सचिव पौडेलले बताए ।