झापा। बिर्तामोड उद्योग बाणिज्य संघसहित तीन दर्जनबढी संघ संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सम्मानसहित विदाई गरेका छन् ।
दुई दिनअघि गृहमन्त्रालयले झापासहित १२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो । बास्तोलाको सरुवा भएसंगै सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् ।
गृहमन्त्रालय सरुवा भएका प्रमुख जिल्ला अधिकारी बास्तोलालाई बिर्तामोड उद्योग वाणिज्य संघसहित विभिन्न संघ संस्थाले संयुक्त रुपमा सम्मान गर्दै विदाई गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी बास्तोलालाई कार्यक्रमका प्रमुख अतिथि शंकराचार्य पीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले कदरपत्र प्रदान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिखा खड्का गणेशले गरेकी थिइन् भने विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्याोग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।