Search
Close this search box.
Search
Close this search box.

झापामा बाढी आउनुअघि साइरन बज्ने

झापामा यस वर्ष बाढीको उच्च जोखिममा रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै विभिन्न स्थानमा साइरन जडान गरिएको छ ।

मनसुनजन्य विपदको क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो ।

जल तथा मौसम विज्ञान विभागले करिब दुई साताअघि जिल्लाको निन्दा र बिरिङ खोलामा एकएकवटा साइरन जडान गरेको छ ।
यसअघि नेपाल रेडक्रस सोसाइटीको पहलमा कनकाई नदीको ९ ठाउँमा साइरन जडान गरिएको थियो ।

करिब ६ वर्षअघि कनकाईको विभिन्न ठाउँमा ९ वटा साइरन जडान गरिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।

त्यस्तै, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि झापामा साइरन जोड्ने भएको छ ।

अहिलेसम्म झापाको राजमार्ग क्षेत्रमा मात्र साइरन जडान गरिएकोमा जिल्लाको झापा गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाको अति जोखिमयुक्त क्षेत्रमा एकएकवटा साइरन जडानको लागि माग गरिएको रेडक्रसका सभापति ढकालले बताए ।

नदी तथा खोलाहरुमा जल सतह सतर्कता तहभन्दा माथि पुगेपछि ती साइरनले आवाज दिँदै स्थानीयबासीहरुलाई सचेत गराउने गर्छन् ।

त्योसँगै कनकाईमा एसएमएस प्रणालीको पनि व्यवस्था गरिएको छ । कनकाईमा रहेको वर्षामापन यन्त्रले जलसतह ३.८ मिटर माथि पुगेपछि एसएमएस पठाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।

निन्दा र बिरिङमा जडान गरिएका साइरनले पूर्णता पाइनसकेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर पूर्वसूचना प्रवाह गरिने जानकारी दिए ।

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ७ पालिका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा छन् ।

त्यस्तै, मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा छन् ।

यो वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *