Search
Close this search box.
Search
Close this search box.

झापामा मात्रै ४० वटा जंगली हात्ती

पुर्वी नेपालको तराई क्षेत्रमा जंगली हात्तीको संख्या बढेको देखिएको छ ।

पुर्वीका झापा, मोरङ र सुनसरीका जंगल क्षेत्रमा अहिले ६० देखि ६५ वटा हात्ती रहेको बताइएको छ । झापामा मात्रै ४० वटा जंगली हात्ती रहेको जिल्ला वन डिभिजन कार्यालय झापाले जनाएको छ । ‘झापामा अहिले ४० वटा हात्ती भएको हाम्रो अध्ययनले देखाएको छ,’ डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले भन्नुभयो, ‘केही दिन अगाडी मात्रै एकै दिन झापाका विभिन्न ९ ठाउँमा ३७ वटा हात्ती देखा परेको थियो ।’ विगत बर्षहरुमा झापामा १० देखि १२ वटा मात्रै हात्ती रहेको भए पनि यो बर्ष झापामा हात्तीको संख्या बढी भएको राईले बताउनु भयो ।

भारततर्फबाट आएका हात्तीहरु यतै बसेका कारण पुर्वी नेपालमा हात्तीको संख्या बढेको हात्तीको अध्ययनमा लागिरहनु भएका अभियन्ता शंकर लुईटेलले बताउनु भयो । ‘गत बर्ष भारतबाट आएको ३७ वटा हात्ती मध्ये १२ वटा मात्रै फर्कियो अरु यतै बसेका छन,’ लुईटेलले भन्नुभयो, ‘यस बर्ष कार्तिक ३० गते मेचीनगर ४ को प्रसाद गौडाबाट नेपाल प्रवेश गरेको ३७ वटा हात्ती फर्किएकै छैनन ।’ अभियन्ता लुईटेलका अनुसार अहिले झापा, मोरङ र सुनसरीका जंगलमा ६० देखि ६५ वटा हात्ती रहेका छन । 

हात्तीले मन पराउने खानेकुरा प्रशस्त भेटिएका कारण हात्तीहरु भारत नफर्किएको लुईटेलको दाबी छ । हात्तीले व्यवहार परिवर्तन गरी ठुलो समूहबाट छुट्टीएर सानो सानो समूहमा बस्न मन पराउन थालेकाले पनि भारतबाट आएका हात्तीहरु नेपालमै बस्न थालेको लुईटेल बताउनु हुन्छ । ‘अब यी हात्तीहरु भारत फर्किदैनन,’ लुईटेलले भन्नुभयो, ‘यताकै जंगल र स्थानीयको खेतमा हात्तीले खानेकुरा पायो त्यसैले यतै बसे ।’

हात्तीले गर्ने क्षतीका आधारमा क्षतिपुर्ती अत्यन्तै न्यून रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख राईले स्वीकार गर्नुभयो । ‘हात्तीले गर्ने क्षतिको तुलनामा क्षतिपुर्ती न्यून पाउने कानूनी व्यवस्था छ,’ राईले भन्नुभयो, ‘मृत्यु भएमा प्रति व्यक्ति १० लाख र अन्य क्षतिमा सामान्य क्षतिपुर्ति दिने कानूनी व्यवस्थाका कारण पनि समस्या भएको छ ।’ गत बर्ष झापामा मात्रै जंगली हात्तीका कारण दुई विदेशी सहित ८ जनाको ज्यान गएको वन कार्यालय प्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार गत बर्ष झापामा मात्रै एक करोड २५ लाख क्षतिपुर्ति वितरण गरिएको थियो ।

पछिल्लो असार देखि मंसिरसम्म झापाका विभिन्न स्थानमा तीन वटा हात्ती मृत अवस्थामा फेला परेको थियो । मंसिर महिनामा मात्रै झापामा दुई जनाले हात्तीकै आक्रमणबाट ज्यान गुमाएका छन भने मोरङ र सुनसरीमा एक एक जनाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *