झापा । झापामा भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद भएको छ । लागूऔषध र प्रतिबन्धित औषधीसहित आठजना पक्राउ परेका छन् । लागूऔषधसहित सातजना र प्रतिबन्धित औषधसहित एकजना पक्राउ परेका हुन् ।
गएराति काँकडभिट्टास्थित मेची पुलमा अर्जुनधारा ८ शनिश्चरे बस्ने ३५ वर्षीय अर्जुन श्रेष्ठ र भारत पश्चिम बंगाल दार्जिलिङ थाना दुलालजोत बस्ने ३० वर्षीय एमडी भनिने मोहमद अनवर हुसेनलाई शंकास्पद अवस्थामा फेला पारी उनीहरुको शरीर तलासी लिने क्रममा हुसेनको साथबाट प्लाष्टिकसहित ७ ग्राम १९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भद्रपुर ३ नयाँ बस्ती बस्ने ४५ वर्षीया सविता भनिने दोमासी राजवंशीले भारतको पानीट्याङकीमा भेटेर काठमाण्डौ पठाउनको लागि लागूऔषध दिएको खुल्न आएको थियो ।
त्यसपश्चात् प्रहरी टोलीले राजवंशीको घरमा गई खानतलासी गर्ने क्रममा घरभित्र रहेको टेवलमाथि प्लाष्टिकसहित २१२ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । तीनैजनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो साँझ ६ः३० बजे बिर्तामोड नगरपालिका वडा नं।५ बस्ने प्रकाश राजवंशीको घरमा लागूऔषध बेचबिखन भइरहेको अबस्थामा चारजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिर्तामोड ५ बस्ने २५ वर्षीय प्रकाश राजवंशी, सोही ठाउँ बस्ने ३२ वर्षीय रतन राजवंशी, वडा नं १ बस्ने २१ वर्षीय करण धिमाल र इलाम एकतप्पा ७ घर भई हाल बिर्तामोड ५ बस्ने २१ वर्षीय आशिष लिम्बू रहेका छन् ।
उनीहरुको साथबाट प्लाष्टिकसहित ३ ग्राम ९८० मिलिग्राम ब्राउनसुगर फेला परेको र नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै प्रतिबन्धित औषधीसहित दमकमा एकजना पक्राउ परेका छन् । हिजो दिउँसो ४ बजे दमक नगरपालिका वडा नं। ६ स्थित सडकखण्डमा दमक २ बस्ने २३ वर्षीय सुसन बन्जरा प्रतिबन्धित औषधीसहित पक्राउ परेका हुन् ।
उनको साथबाट ट्रामोल–५० लेखिएको २०० क्याप्सुल र स्पास्पेन २०० ट्याब्लेट फेला परेको छ । प्रतिबन्धित औषधीसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।