Search
Close this search box.
Search
Close this search box.

झापासहित ७ जिल्लामा धमाधम हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा(पालिका सन्देश) । नेपालमा हात्तीपाइले रोगको औषधि यो वर्षमात्रै खुवाइँदैछ । नेपालबाट सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गरेरै छोड्ने सरकारी सङ्कल्प छ । झापा सहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि धमाधम खुवाइँदैछ । सम्भवतः हात्तीपाइलेको औषधि सेवन अभियान यो नै अन्तिम हुने स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले बताइन् ।


सरकारले सन् २००३ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो । सन् २००३ देखि २०२० सम्ममा हात्तीपाइले निवारण गर्न लागिपरेको सरकारले अन्ततः निवारण गर्न सकेन । नीतिगत रूपमै परिवर्तन गरी यसलाई सन् २०३० सम्म हात्तीपाइले निवारण गर्ने लक्ष्य राखेको बताइएको छ ।


कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६२ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताएका छन् ।


कोशी प्रदेशका झापा बाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । हाल झापामा दुई सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् । पहिचान नभएका रोगीको सङ्ख्या अझ धेरै हुनसक्ने उनको अनुमान छ । हात्तीपाइले रोग नियन्त्रणका लागि धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा पनि आजै अभियान सञ्चालन भइरहेको छ । सामुदायिकस्तरको सङ्क्रमण नरोकिएकाले झापामा औषधि सेवन अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख बाराकोटीले बताए ।


यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा सात सय ५० स्वास्थ्यकर्मी र ६ सय ६ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । स्वास्थ्य कार्यालयकाअनुसार हालै जिल्लाको दक्षिणी क्षेत्रस्थित झापा गाउँपालिकामा गरिएको एक अध्ययनले लामखुट्टेको शरीरमा हात्तीपाइले रोग सङ्क्रमण गराउने परजीवीको सङ्ख्या एक दशमलव ४४ प्रतिशत पाइएको थियो ।


कचनकबल, अर्जुनधारा, मेचीनगरमा हात्तीपाइलेका रोगीको सङ्ख्या अधिक छ । गत वर्ष झापामा ७८ प्रतिशत जनसङ्ख्याले हात्तीपाइले निवारणका लागि औषधि सेवन गरेको थियो । यसपटक ९५ प्रतिशतलाई खुवाउने लक्ष्य छ । वैदेशिक रोजगारीमा गएका झापाका ६ जना त्यहाँ हात्तीपाइले रोगको पहिचान भएपछि रोजगारी गुमाएर स्वदेश फर्किनुपरेको छ । मेचीनगरका तीन, बाह्रदशीका दुई र कचनकबलका एकजना मलेसियाबाट नेपाल फर्किएका हुन् । झापामा १२ वर्षदेखि सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ ।


चिकित्सकहरूका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने एक प्रकारको सङ्क्रामक रोग हो । मसिनो धागो आकारको जुकाजस्तै परजीवीको सङ्क्रमणले यस्तो रोग लाग्छ । सङ्क्रमण भएको आठदेखि १३ महिनामा मात्र रोगका लक्षण देखा पर्छ । यो रोग लागेकाको खुट्टा, अण्डकोष र स्तन सुन्निन्छ ।


बुद्धशान्तिमा ५१ हजार बढीलाई खुवाइँदै
सात वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकाले ५१ हजार ४ सय ८९ जनालाई हात्तीपाईले विरुद्धको औषधि खुवाउने लक्ष्य राखेको छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धिरेन यादवका अनुसार ५४ हजार २ सय ३७ जनसंख्या रहेको गाउँपालिकामा ५१ हजार बढीलाई औषधि खुवाउने लक्ष्य रहेको छ । जसका लागि ३० जना स्वास्थ्यकर्मी खटाइएको छ ।

१३ जिल्ला वैज्ञानिक रूपमा हात्तीपाइले मुक्त
नेपालका १३ जिल्ला हात्तीपाइले रोग मुक्त भएका छन् । नेपालका ५३ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइने अभियान बन्द गरिसकिएको छ । ७ वटा जिल्लामा औषधि खुवाइने कार्यक्रम १६ गतेबाट जारी हुने महाशाखाका प्रमुख डा. मरासिनीले बताए । यस्तै, ४ वटा जिल्लामा हात्तीपाइले रोगको अनुसन्धान भइरहेको छ ।

हात्तीपाइले कस्तो रोग हो ?
हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । हात्तीपाइले सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने चिकित्सकहरु बताउँछन् । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्रै रोगका असर शरीरमा देखिने गर्छ । यस रोगको लक्षण देखिइसकेपछि निको पार्न नसकिने भएकाले हात्तीपाइलेको औषधि अनिवार्य सेवन गर्न चिकित्सक सुझाव दिन्छन् । धेरैजसोमा यो रोग सङ्क्रमण लक्षणविनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत सर्ने सम्भावना बढी हुन्छ ।

हात्तीपाइले रोगको परजीवी मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भई आफ्नो जिल्लामा सञ्चालनमा रहेसम्म लगातार हात्तीपाइले रोगको औषधि सेवन गर्ने तथा अरूलाई समेत सेवन गराउन चिकित्सकको सल्लाह छ ।

‘हात्तीपाइलेको औषधि सुरक्षित छ’
हात्तीपाइले रोगबाट बच्न प्रयोग हुने औषधिहरू तीन प्रकारका हुन्छन्, जुन पूर्ण रूपमा सुरक्षित छन् । यी औषधि विश्वभर नै प्रयोग हुने गरेका छन् । यी औषधिहरूको प्रयोगले हात्तीपाइले रोग लागिसकेकाहरूको प्रभावकारी रूप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउने चिकित्सकले बताउँछन् । यसले आन्द्रा र रगतका जुकाहरू मार्छ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ । अध्ययन तथा अनुसन्धानबाट यी तीनै प्रकारका औषधि पूर्ण रूपमा सुरक्षित छन् । र यी औषधि विश्व स्वास्थ्य सङ्गठन (डक्लुएचओ) द्वारा मान्यता प्राप्त रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *