Search
Close this search box.
Search
Close this search box.

ढँटुवा प्रेमीहरु(कथा)

  • भुवन तामाङ,

‘खोइ कहिले लैजान्छौ त मलाई तिम्रो त्यो सपनाको महलमा मेरो राजा ? जहाँ तिमीले मलाई रानी बनाएर राख्छु भन्ने गथ्र्यौ । म गणितमा कमजोर भएपनि तिमीले मलाई सयौँ चोटीभन्दा बढी पल्ट भनिसकेको याद छ, कि मेरी प्रिया ! तिमीलाई रानी बनाएर राख्ने भव्य महल बनाइरहेको छु । त कहिले लान्छौ मलाई त्यो तिम्रो ड्रिम महलमा ?’

प्रिन्सले भन्यो, ‘प्रिया ! तिमीले यो के भनिरहेकीछ्यौ तिम्रो ड्रिम महल भनेर ? त्यो हामी दुबैको सपनाको महल पो हो त । जहाँ तिमी र म खुशी र सुखसँग जीवन बिताउने छौँ । सुख सयलका सबै संसाधन हुनेछन् त्यहाँ । तिमीलाई खुशी तुल्याउने सबैचीज हुनेछन् हाम्रो सपनाको महलमा ।’

एउटा सुन्दर पार्कको किनारमा ढुँगामा बसेर हातले चिउँडो अड्याएर टाढा हेर्दै प्रिया सम्झन पुग्दछिन् कि उनका प्रेमी प्रिन्सले बाचा गरेका धेरे धेरै कुराहरु । कति कुराहरु त प्रियाले बिर्सिपनि सकिन् । प्रिन्स भन्ने गथ्र्यो प्रियालाई, ‘प्रिया ! तिमीलाई म आकाशको ताराहरु अँगुर टिपेजस्तै टिपेर लिएर आएर अञ्जुलीभरी राखिदिउँला । तिमीलाई अलौकिक विमानमा राखेर आकाशमा सयर गराउँला । बादलभित्र लुकामारी खेल्न लैजाउँला र जुनसम्मै पुगाउँला । जुनमा हामी निर्धक्क बिडस्टर्बरहित मनमौजी घुमौला र मस्ती गरौँला ।’ तर उस्ले आजसम्म एउटा जुनकिरीसम्म समातेर दिएको छैन । हवाईजहाजसम्म चढाएर कतै घुमाउन लगेको छैन । कुनै मेलामा लगेर रोटेपिङ्गसम्म खेलाएको छैन । उप्m आकाशमा लान्छ रे बादलमा लुकामारी खेलाउँछ रे । कतै मलाई प्रिन्सले ढाँटिरहेको त छैन ? यस्तो सम्झेर प्रियाका आँखा बोझिल र ओसिलो हुन्छन् । अनायास उनको हातले रुमाल उठाएर आँखामा टप्किएका शीतका थोपा जस्ता आँशुहरु पुछ्दछन् ।

प्रिन्स स्वयम्ले प्रियालाई पार्कमा बोलाएर घण्टौ पर्खाइरहेको छ तर उ भने बेपत्ता छ । कति कति प्रेमील जोडीहरु पार्कमा रमाइलो गरिरहेका छन् । कति प्रेमीहरुले आफ्ना प्रेमीकाहरुलाई पार्कमा डुलाईरहेका छन् । स्वप्नील कुराकानी गरेर आनन्द दिलाईरहेका छन् । पिङ्गमा राखेर आआफ्ना प्रेमीकाहरुलाई झुलाईरहेका छन् । प्रेमीकाहरुलाई मीठामीठा मिष्ठान्न र परिकारहरु खुवाएर तृप्त पारिरहेका छन् ।

प्रियालाई, प्रेमी प्रिन्सले कहिल्यै गतिलो आईसक्रिमसम्म खुवाएको याद छैन । कतिपल्ट प्रिन्सले प्रियालाई खाजा खुवाउँछु, लञ्च या डिनर खुवाउँछु भनेर रेस्टुरेन्टहरुमा बोलाएर बरु उल्टै प्रियाकै खल्ती रित्याइदिएको छ । आज पनि त्यस्तै त गर्ने छैन प्रिन्सले ? हतार हतार आउने छ र लु तिमीलाई भोक लाग्यो होला जाऔँ रेस्टुरेन्टतिर भन्दै । खानेकुरा अर्डर गरेर खाइसकेपछि हेरन प्रिया पैसा तान्न एटिएम गएको एटिएम नै बिग्रेको रैछ । चेक साट्न लामो लाइनमा उभिनु पर्छ । यता तिमी मलाई कतिबेरदेखि पर्खिरहेकी हौली भनेर दौडेर आको भन्दै आज तिमी नै बिल पे गरन है भन्न बेर छैन ।

नभन्दै प्रिन्स पुच्छर ठाडो परेको बाईक भटट पार्दै पार्कमा आइपुग्छ तर पार्क बन्द भइसकेको हुन्छ । प्रिन्स प्रियालाई यताउता खोज्छ भेट्दैन । प्रिन्स असमन्जसमा पर्छ । प्रिया यहाँ आइन या आइनन् ? आइन् होलिन् र म आउन ढिला भएकाले गइसकिन् होलिन् ? यस्तै सोच्छ प्रिन्स । प्रिन्सको सदाबहार बानीको शिकार धेरैपल्ट भइसकिन् प्रिया । उनले प्रिन्सलाई ढँटुवाको दर्जामा राखिपनि सकेकीछिन् । उनलाई थाहा छ प्रिन्स मात्रै होइन लाखौँ प्रेमीहरु यस्तै ढँटुवा हुन्छन् भनेर तर के गर्नु ? यो त सब हुनु नै छ । कस्ले कस्लाई कसरी चिन्नु र एकविन्दुमा पुगिसकेपछि । झण्डै झण्डै बरबाद भइसकेपछि उम्कन पनि निकै गाह्रो हुनेरहेछ । प्रियाको निष्कर्ष यस्तै छ ।

यो के सुन्दैछु म । के प्रिन्स ढँटुवा होइन त ? के प्रिन्स मेरो राजकुमार नै हो त ? के मलाई उस्ले रानी बनाउने नै भयो त ? उसले मेरो लागि सुन्दर महल बनाइसक्यो रे । महलको बनावट, बान्की र सुन्दरताको बयान गरिसकेको छ । बैठक कोठा, शयन कक्ष, पाकशाला, सिँढी, बरण्डा, छत आदिको इन्टेरियर डिजाइन सुनाइसकेको छ । मेरा लागि टहल्ने कौशी र कौशीमा झुला बनाएको छ रे । झुलामा मलाई झुलाएर त्यहाँबाट देखिने दृष्यावलोकनको बयान गर्दै सुनाउने कुरा पनि गरिसकेको छ प्रिन्सले म सँग । बेला बेला निकै दिन हराउने गर्दथ्यो प्रिन्स । मलाई रानी बनाएर राख्ने दरवार पो बनाउन गएको रैछ । वाह प्रिन्स ! मेरो राजा ।

‘आऊ मेरी प्राणप्यारी प्रिया ! म तिमीलाई हाम्रो सपनाको महलमा लाँदैछु । चाँडोगरि तयार होऊ ।’ प्रिया भन्छिन्, ‘अनि प्रिन्स ! यो त साँझ पर्दैछ अनि हामी के मा जाने कुनै गाडी पनि ल्याएका छैनौ त अनि रित्तै देख्दै छु तिमीलाई ।’ जवाफमा प्रिन्स भन्छ, ‘आश्चर्य नमान प्रिया ! हामी यत्तिकै हिँड्ने छौँ, हिडेरै त्यो सपनाको महलमा पुग्ने छौँ । अनि रित्तै पुग्नेछौँ किनकि त्यहाँ हामीलाई चाहिने यावत कुराहरु भरपुर मात्रामा छन् ।’ प्रिया सोध्छिन्, ‘अनि रातभरि हिँडेर जाने हो र प्रिन्स ?’ प्रिन्स भन्छ, ‘सही अन्दाज लगायौ तिमीले प्रिया ! हामी टहटह जुनको उज्यालोमा ताराहरुलाई साक्षी राखेर त्यो लामो पैदल यात्रा गर्नेछौँ र उज्यालो हुँदासम्ममा हाम्रो सपनाको महलमा पुग्नेछौँ ।’ प्रिया निकै असमञ्जसमा पर्छिन् तर उनी तयार हुन्छिन् ।

‘प्रिन्स ! यो त नदीको किनार हो त । बगरै बगर पो छ त के हामी यही बगर भएर जानुपर्ने हो ?’ प्रिन्स भन्छ, ‘वास्तवमा प्रिया ! यो जस्तो सुन्दर बाटो अरु केही छैन संसारमा । जुनको उज्यालोमा मात्र तिमी र म । प्रेमका मीठा मीठा कुरा गर्दै एकअर्का आलिङ्गबद्ध भएर सुस्तरी सुस्तरी पाइला चाल्दै ठाउँठाउँमा खोलाका भङ्गला तर्दै जाउँला प्रिया । मलाई लाग्छ संसारका अरु कुनै पनि प्रेमी जोडीहरुले यस्तो सुन्दर समय, बाटो र क्षणको अनुभूति लिएका छैनन् ।’ यत्तिकैमा प्रिया भन्छिन्, ‘नाइ मलाई त डर लाग्छ कतै भुत आयो भने ।’ प्रिन्स भन्छ, ‘हेर चोखो प्रेमको अगाडि भुतप्रेत पनि नतमस्तक हुन्छन् । उनीहरुपनि हाम्रो सहयोगी भैदिन्छन् । डराउनु पर्ने कुनै कारण नै छैन । प्रेममा नै यी सब सम्भव हुन्छन् ।’ प्रिया सोध्छिन्, ‘के हाम्रो महल खोलाको बीचमा छ हो ?’ प्रिन्स भन्छ, ‘ह्यात प्रिया ! कहीँ खोलाकोबीचमा पनि महल हुन्छ ? त्यै पनि हाम्रो । जाने बाटो पो त खोलाबाट परेको हो तर मोटरमा मोटरेबल बाटोबाट पनि पुगिन्छ नि प्रिया ।’ प्रिया भन्छिन्, ‘अनि किन मोटरमा नजाने त ?’ जवाफमा प्रिन्स भन्छ, ‘एउटा अद्भूत र अविश्मरणीय अनुभूति लिउँ भनेर यो खोलाको बाटो रोजेको । मोटरबाट जाँदा कतै कसैले भिलेन खेलेर अवरोध गर्लान् भनेर पनि खोलैखोला राती भाग्न लाग्या क्या ।’ प्रिया भन्छिन्, ‘यसरी भागेर जानु पोइल गएको भएन र ?’ प्रिन्स भन्छ, ‘पहिला हामी सुरक्षित हाम्रो सपनाको महल पुगौँ न । बाँकी कसरी उत्तर दिनुपर्छ दुनियालाई मैले जानेको छु ।’

उनीहरु एकअर्का अँगालोमा बाँधिएर के के गुनगुनाउँदै बगरै बगर हिँड्छन् । घरिघरि खोलाका भङ्गलाहरुमा छाप्लाङ्ग र छुप्लुङ्ग गर्दै हिँडिरहन्छन् । उनीहरुलाई हुनसम्म आनन्द आउँछ । यत्तिकैमा प्रिया भन्छिन्, ‘प्रिन्स ! ऊ अगाडि हेर त जुनको उज्यालोमा देखिएको त्यो के हो ?’ प्रियाको जिज्ञासामा प्रिन्स भन्छ, ‘त्यो झरना हो त प्रिया । कति रमणीय देखिएको छ त्यो दृष्य ।’ प्रिया भन्छिन्, ‘त्यसो भए झरनाको चिसो पानी पिउन मन लाग्यो मलाई त ।’

उनीहरु निकै बाटो काटिसक्छन् । प्रिया भन्छिन्, ‘प्रिन्स ! हामी त कतै डाँडामा पो आइपुगेछौँ होइन त ?’ प्रिन्स भन्छ, ‘हो त प्रिया । हेर त प्रिया ! आकाशमा ताराहरु कति नजिकै देखिएका छन् ।’ प्रिया भनिहाल्छिन्, ‘प्रिन्स ! तिमीले मलाई भन्ने गथ्र्यौ कि आकाशबाट ताराहरु टिपेर ल्याइदिन्छु । लु आज ताराहरु टिपेर मेरो अञ्जुली भरिदेऊ त ।’ प्रिन्स बुरुक्क गर्छ तारा टिप्न तर भुँइमा पछारिन पुग्छ । प्रिया खित्का छाडि छाडि हाँस्तछिन् । डाँडा काँडा गुञ्जायमान हुनेगरि ।

उनीहरु पुनः बाटो लाग्छन् । जाँदा जाँदा नागी आइपुग्छ । रुख बुट्यानहरु छैनन् । धेरै परपरसम्म मैदान जस्तै देखिएका छन् । पारी उत्तरपट्टि हिमाल जगधुम्म परेको देखेर प्रिया तरङ्ग तर्सन्छिन् । सोध्छिन्, ‘प्रिन्स ! उ त्यो लहरै विशाल रुपमा देखिएको के हो ?’ प्रिन्स भन्छ, ‘ए त्यति पनि चिनेनौ ? त्यो त हिम श्रृंखला हो । थुप्रै हिमालहरु जुनको उज्यालोमा टल्किएका देखिनौ प्रिया ?’ प्रिया भन्छिन्, ‘हो प्रिन्स ! मैले आजसम्म यस्तो अलौकिक दृष्य कहिल्यै देखेको छैन । धन्यवाद तिमीलाई नजिकैबाट हिमालहरुको दर्शन गराएकामा ।’ प्रिन्स भन्छ, ‘यसमा धन्यवादको के कुरा । एउटा पे्रमीले प्रेमीकालाई यतिपनि देखाउन सकेन भने ऊ कसरी पे्रमी ।’ यतिकैमा प्रिया खित्का छाडेर हाँस्छिन् । प्रिन्स सोध्छ ‘किन हाँसेकी प्रिया तिमी ?’ प्रिया भन्छिन्, ‘आजचाहिँ तिमीले मेरो इच्छा पुरा गरेउ र पहिलो पल्ट सही कुरा गरेउ ।’ प्रिन्स भन्छ, ‘मैले कहिले पो तिम्रो इच्छा पुरा गरेको छुइन र अनि कहिले पो गलत कुरा गरेको छु र ?’ यत्तिकै प्रिया सोध्छिन्, ‘खोइत हाम्रो सपनाको महल प्रिन्स ?’ प्रिन्स भन्छ, ‘अब दुईटा डाँडा कटेपछि आइपुगिहाल्छ हाम्रो सपनाको महल ।’

रातको तेस्रो प्रहर सकिँदै छ र चौथो प्रहर शुरु हुन लाग्दै छ । यस्तै बेलामा आकाशबाट ताराहरु वेगले झरेका देखिन्छन् । यत्तिकैमा प्रिया खुशीले चिच्याउँछिन्, ‘प्रिन्स ! हेर त उ आकाशबाट ताराहरु झरेका । कति धेरै ताराहरु झरेका । आहा केही ताराहरु समात्न पाए त ।’ प्रिन्स भन्छ, ‘खोइ त तिम्रो पछ्यौरी लेउ त । त्यसैमा थापेर तिमीलाई पोल्टाभरी ताराहरु दिउँला ।’ प्रिया भन्छिन्, ‘इस्स्स् ।’ यत्तिकैमा जोडले चिसो हावा चल्छ । प्रिया जाडो महसुस् गर्छिन् । प्रिन्स प्रियाको नजिक आउँछ र प्रियालाई अँगालोमा बाँध्छ । प्रिया न्यानो र सुरक्षित महसुस् गर्छिन् ।

चराचुङ्गीहरुका चिरबिर आवाजहरु र मिर्मिरे बिहानीको चिसोचिसो बतासको श्पर्शले प्रियाको निद्रा खुल्दछ । उनी आपूmलाई पहाडको उचाइमा चप्लेटी ढुँगामा सुतिरहेको पाउँछिन् । उनी झटपट उठ्छिन् र ‘प्रिन्स ! प्रिन्स ! भन्दै प्रिन्सलाई खोज्दछिन् । तर प्रिन्स कतै देखिदैन । हिमालको कापबाट घाम उदाउन थाल्छ तर प्रिन्स देखिएन । उज्यालो भइसक्छ तर पनि प्रिन्स कहीँ कतै देखिदैन । प्रिया डाँडाकाँडा थर्कने गरी प्रिन्सलाई बोलाउँछिन् तर अहँ प्रिन्स भेटिएन । प्रियालाई विश्वास भैसक्छ कि, ‘प्रिन्स ढँटुवा नै रहेछ । सपनाको महलमा रानी बनाएर राख्छु भन्थ्यो तर धोका दियो । नाम प्रिन्स भएर के गर्नु ? तर रहेछ पिसाच ।

प्रियालाई थाहा छैन कि उनी राती कताबाट आएकी हुन् र यो पनि थाहा छैन कि अब जाने बाटो कता हो ? सोधौँ त कसलाई सोधौँ । मानिसको नाममा जो उनीमात्र छिन् । महलमा रानी भएर बस्न आएकी प्रिया भईन् घर न घाटकी । उनी बोझिल मन लिएर रुँदै पाइलाहरु चाल्दछिन् । पछ्यौरी ओढेर गइरहन्छिन् अनि गइरहन्छिन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *