तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक पवन गुप्ताले माग र आपूर्तिको तालमेल मिल्न नसक्दा रगतको अभाव भएको बताउनुभयो । गुप्ताका अनुसार अस्पतालले कुनै बिरामीको शल्यक्रिया गर्दा दुई युनिट रगत आवश्यकता पर्नेमा पाँच युनिट मगाउने गरेका छन् । दुई युनिट मात्र प्रयोग भएको अवस्थामा तीन युनिट रगत फिर्ता हुँदैन ।
गुप्ताका अनुसार नेपाल रेडक्रसले काठमाडौँ उपत्यकाबाट मात्र प्रतिदिन पाँच सय युनिट रगत सङ्कलन गरिरहेको छ । यसबाहेक नेपाल रेडक्रस सोसाइटीले देशभरबाट वार्षिक तीन लाख ५० हजार युनिट रगत सङ्कलन गर्ने गरेको छ । हाल रगतको माग वार्षिक पाँच लाख युनिटसम्म रहेको छ । उहाँका अनुसार सही व्यवस्थापन गर्न नसक्दा रगत अभाव भएको हो । पछिल्लो समय रेडक्रसले मात्र रगत सङ्कलन गर्ने नभई निजी अस्पतालले पनि रगत सङ्कलन गर्ने गरेका छन् । गुप्ताले थप्नुभयो, “काठमाडौँमा रगतको अभाव छैन, विशेष गरी तराईका जिल्लामा रगत अभाव देखिएको छ ।”



















