काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ४७ प्रकारका वस्तुको आयातमा कडाइ गरेको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले गेडागुडी, पिठो, पिना, कपडा, मेटल, ड्राइ फ्रुटसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको हो । बढ्दो आयात र घट्दो रेमिट्यान्स लगायतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि यस्तो व्यवस्थाम गरिएको केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।
विदेशी विनिमय सञ्चितिमा मुलुक दबाबमा पर्यो, यस अघिको बाहेक थप ४७ वस्तुको आयातमा कम्तीमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको छौं,’ प्रवक्ता डा. भट्टले भने ।
राष्ट्र बैंकको नयाँ सूचनाअनुसार अब आयातकर्ताहरुले यस अघिका तीन सय प्रकारका वस्तुबाहेक थप ४७ प्रकारका माल वस्तु आयातमा नगद मार्जिन राख्नु पर्नेछ । थप भएकामध्ये चार प्रकारका वस्तुमा ५० प्रतिशत र बाँकी ४३ प्रकारका वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएको छ ।