Search
Close this search box.
Search
Close this search box.

दिनभरका ‘पालिका सन्देश गुड न्युज’

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेई फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेईसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए।
 
भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका थिए। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चीनमा औपचारिक भ्रमण भएको थियो।

रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाएका थिए।

प्रत्युत्तरमा चिनियाँ रक्षामन्त्री वेईले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्काे देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताएका थिए।

सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन्।

नेपाल उद्योग परिसंघका पदाधिकारहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड-१९ का कारण सिर्जित प्रतिकूलताका बाबजुत पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन गर्न नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको सुझाव लिएर काम गर्ने बताए।

“निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहनुपर्छ,” उनले भने, “आजको छलफल छलफलको अन्त्य होइन, सुरूआत हो।”

उद्योगी तथा व्यावसायहरूलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यवसायी निरन्तरता कर्जालगायतका कार्यक्रमहरू ल्याएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने उनले बताए।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले कोभिड-१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए।

मदाने गाउँपालिकामा १५ शैयाको अस्पताल

गुल्मीको मदाने गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम गुल्मीमा पहिलो स्थानीय तहकोरुपमा मदानेमा अस्पतालको शिलन्यास गरिएको हो ।

नेप्से ७५ अ‌ंकले बढ्यो

नेपाली सेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको हो ।

 
गत बिहीबारमात्रै १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । त्यस्तै, यो दिन कारोबार रकम ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ र यो पनि हालसम्मकै सबैभन्दा धेरै हो । 

 
आजको बजारमा बैंक र विकास बैंक परिसूचकमा अत्यधिक वृद्धि देखिएको छ । बैंकिङ समूह ७.८१ र विकास बैंक समूह ८.११ प्रतिशत बढेको छ । अन्यमा भने सामान्य घटबढ देखिएको छ । यो दिन सबैभन्दा बढी कमाउनेमा १० कम्पनीमा ८ वटा वाणिज्य बैंक २ वटा विकास बैंक रहेका छन् ।

कोरोना भाइरसबाट थप एक हजार ४०४ जना निको

नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ४०४ जना निको भएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या दुई लाख १२ हजार ५९० पुगेको छ। 

१३औं सागको खर्च विवरण सार्वजनिक

गत वर्ष नेपालमा आयोजना गरिएको १३औं दक्षिण एसियाली खेलकुद(साग)को खर्च विवरण सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । 

राखेपका सदस्य सचिव रमेस सिलवालले सार्वजनिक गरेको सो विवरणमा कार्यक्रमतर्फ १ अर्ब, ३१ करोड, ७८ खाख, ४३ हजार ६१ रुपैयाँ साथै निर्माणतर्फ २ अर्ब, ८६ करोड, १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको देखिएको छ। पोखरा र जनकपुरमा भएको खर्च विवरण भने कोरोना महामारीका कारण समयमा सार्वजनिक गर्न असमर्थ रहेको पनि बताएका छन् । 

थप एक हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ।

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट

बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने ती कम्पनीले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *