बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारी सवार स्कारर्पियो इलामको हर्कटेमा हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।
संस्थाका जनशक्ति विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईका अनुसार इलामको फिक्कलमा सेवाकेन्द्र विस्तार गर्ने सिलशिलामा आज शनिबार स्थानीय बासिन्दाहरुसँग छलफल गर्ने तयारीका साथ कर्णालीको नेतृत्व शुक्रबार साँझ त्यसतर्फ गएको हो ।
संस्था सञ्चालक समितिका सदस्य गणेश पराजुलीको निजी स्कारर्पियोमा उनी स्वयम् चालक थिए । सवारीमा अध्यक्ष टसबहादुर प्रधान, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्ट, कर्मचारीहरु लेखा शाखाका प्रमुख डिल्ली बस्नेत र कर्जातर्फका सन्तोष श्रेष्ठ थिए ।
साकोसका पदाधिकारी र कर्मचारीहरु चढेको प्रदेश १–०१–००१६–९१९३ नम्बरको स्कोरपियो साँझ ७ः३० बजेतिर सूर्योदय नगरपालिका ७ स्थित सुकेपोखरी नजिकै बाटोभन्दा सय मिटर तल झरेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले स्कारपियोमा सवारमध्ये एकजनाको मृत्यु भएको जानकारी दिएको छ । दुर्घटनामा संस्थाका उपाध्यक्ष बिर्तामोड ३ का इश्वरीप्रसाद खरेलको मृत्यु भएको हो भने चालक गणेश पराजुली बाहेक अरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु भएका उपाध्यक्ष खरेल चालक पछाडिको सिटमा अरुहरुको बीचमा बसेका थिए । तर गाडी अनियन्त्रित हुँदा उनी झ्यालबाट उछिट्टिएको प्रारम्भिक अनुमान गरिएको छ ।
मृतक खरेलको शव अहिले बिएण्डसी अस्पतालमा छ भने घाइतेहरु सबैको त्यहीँ उपचार भइरहेको जनाइएको छ ।