झापा । मेचीनगरको वडा नं. १३ दुवागढीमा घरको बन्द कोठाभित्र गर्भवती महिला मृत भेटिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २४ वर्षीया विद्या उप्रेती भट्टराईलाई कोठाभित्र असामयिक मृत्यु भएको अवस्थामा भेटिएको हो ।
पारिवारिक स्रोतले उनी गर्भवती रहेको जनाएको छ । आज विहान ढोका नखुलेपछि घर र माइती पक्षको उपस्थितिमा ढोका फोडेर कोठामा पस्दा उनलाई झुण्डिएर मृत्युवरण गरेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई छ ।
गत वैशाखमा विवेक भट्टराईसँग उनको विवाह भएको थियो । माइती पक्षले विद्यालाई उनका पतिले तनाव दिने गरेको दावी गरेको छ ।
शबलाई पोस्टमार्टम जाँचका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको प्रहरीले जनाएको छ ।
बुधवार साँझ विद्या र उनका पति विवेकबीच झगडा भएको थियो । बेलुका झगडा भएपछि विद्याले कोठाको ढोकाको भित्री चुकुल लगाएको र त्यसपछि भाइको कोठामा गएर सुतेको उनका पति विवेकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले बताए ।
विवेकले विहान अबेलासम्म पनि ढोका नखुलेपछि प्रहरीलाई खबर गरेको प्रहरीसमक्ष बताउने गरेका छन् । प्रहरीले माइती पक्षको समेत कुरा सुनिसकेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।लोकतन्त्र पोस्टमा खबर छ ।