बुद्धशान्ति(पालिका सन्देश) । देउसी भैलो खेलेको रकम अनावश्यक खर्च नगरीकन झापा बुद्धशान्ति–३ कञ्चनबारीका स्थानीयले पोलबत्ती जडान गरेर गाउँटोल नै झलमल्ल पारेका छन् । स्थानीय सिंहसेतीदेवी टोलसुधार समितिले २०८१ सालको देउसी भैलोबाट संकलन गरेको रकमबाट गाउँमा पोलबत्ती जडान गरेर गाउँ नै झलमल्ल पारेका छन् ।
देउसी भैलोबाट ४२ हजार पाँचसय संकलन गरिएको र बुद्धशान्ति ३ नं वडा कार्यालयले २० हजार सहयोग गरेको रकमबाट पोलबत्ती जडान गरिएको टोलसुधार समितिका अध्यक्ष श्रीप्रसाद खनालले बताएका छन् । उनले सहयोगी दाता र वडा कार्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।
१६ वडा पोल करिव आठसय मिटर सडकमा ८० हजार रुपैँया लागतमा एलइडी बत्ती जोडेर एकै स्थानबाट बाल्न सकिने गरिको व्यवस्था गरेर बत्ती जडान गरिएको टोल सुधार समितिका कोषाध्यक्ष श्रवणकुमार अधिकारीले बताएका छन् । अनुगमन समितिका संयोजक दुर्गा बाँस्कोटाका अनुसार हाल सो क्षेत्रमा दिनहुँ जंगली हात्ती आइरहेकाले यो पोलबत्तीले थोरै भएपनि राहत भएको बताएका छन् ।