पछिल्लो समय वैदेशिक रोजगारीका नाममा आर्थिक ठगी बढ्दो छ । कतिपय एजेन्टले नक्कली म्यानपावर नै खोलेर झुटो मागपत्र बनाएर रोजगारीको खोजीमा रहेका युवासँग लाखौँ असुल्ने गरेको उजुरी दैनिक वैदेशिक रोजगार विभागमा लिएर पीडित धाउने गरेका छन् ।
नक्कली म्यानपावर खोलेका एजेन्टले राम्रा म्यानपावरले ल्याएको डिमान्ड जस्तै विज्ञापन बनाएर सामाजिक सञ्जालमा पोष्ट गरी वैदेशिक रोजगारीको खोजीमा रहेको युवालाई आर्थिक ठगी गरेको उजुरी पर्ने गरेको विभागको उजुरी शाखाले जानकारी दिएको छ ।
विभागले वैदेशिक रोजगारको नाममा ठगी गर्ने ८ जनाविरुद्ध सोमबार मुद्दा दायर गरेको छ । यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ८ जनाविरूद्ध हर्जनासहित २ करोड ३६ लाख रूपैयाँ बिगो दाबीसहितको वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा साेमबार दायर गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।
वैदेशिक रोजगारीमा कामदार पठाउने भन्दै कमल बिकको नाममा वैदेशिक रोजगार कम्पनीसँग हुबहु मिल्दो नाम राखी कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दुई वटा कम्पनी दर्ता गरेर यूएईमा सूरक्षा गार्डमा पठाइदिने भन्दै ठगी गरेको भन्दै विभागले न्यायाधीकरणमा मुद्दा दर्ता गरेको हो ।
एक्टिभ ईम्ल्पाई सर्भिस प्रालि र दि रोयल गोर्खा ओभरसिज प्रालिको नाममा दुई वटा कम्पनी खडा गरेर यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै १ करोड ५८ लाख ३५ हजार रूपैयाँ ठगी गरेको विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । यी दुवै कम्पनी वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर नभएको विभागका महानिर्देशक पौडेलले बताए ।
एक्टिभ ईम्ल्पाई सर्भिस प्रालिका नामबाट कान्छा थिङसमेत ३ जनाबाट प्रतिव्यक्ति ८ लाखसम्म असुली गरी १४ लाख ३७ हजार र दि रोयल गोर्खा ओभरसिज प्रालिका नामबाट प्रदीप तामाङसहित ६ जनाले केशव आचार्यसहित ३६ जनाबाट १ करोड ४३ लाख ९८ हजार ठगी गरेको दाबी गर्दै विभागले मुद्दा दर्ता गरेको छ ।
दुवै कम्पनीका सञ्चालक कमल बिक भने पक्राउ परेका छैनन् । प्रतिवादी बनाइएका बिक अहिले फरार रहेको विभागले जनाएको छ । बिकले धेरै युवालाई ती दुई कम्पनीका नाममा वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको हुनसक्ने विभागको अनुमान छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा म्यानपावर कम्पनीसँग नाम मिल्ने कम्पनी दर्ता गरी कम्पनीको नाममा रकम उठाउने संगठित गिरोह सक्रिय रहेको देखाएको विभागले जनाएका छ ।