काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ मध्ये करिब २०० स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतले चलाइरहेका छन् । मधेश प्रदेशमा यस्तो समस्या धेरै जटिल छ ।
मधेश प्रदेशका कुल १२६ मध्ये करिब १०० स्थानीय तह निमित्तको भरमा चलिरहेको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । ‘सुदूरपश्चिम प्रदेशमा पनि निमित्तका भरमा चलिरहेका स्थानीय तह बढी छन्,’ उनले भने, ‘हामीसँग पर्याप्त अधिकृत नभएकाले यस्तो अवस्था आएको हो ।’
प्रमुख प्रशासकीय अधिकृतले गाउँ/नगर सभा र कार्यपालिकामा सचिवको काम गर्नुपर्छ । सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तथा कार्यान्वयन र अनुगमन तथा मूल्यांकन गर्ने, कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, लेखापरीक्षण गराउने, बेरुजु फर्छ्यौट गर्ने लगायत जिम्मेवारी पनि तोकिएका छन् ।
आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन बनाएर कार्यपालिकाको बैठकमा पेश गर्ने, गाउँपालिका वा नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने, अद्यावधिक गर्ने, अध्यक्ष वा प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, कार्यपालिकाको निर्णय प्रमाणित गर्ने, सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने काम पनि अधिकृतको हो ।
न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णयसम्बन्धी मिसिल संरक्षण गर्ने, गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने, सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्नेसहित थुप्रै प्रशासकीय जिम्मेवारी तोकिएका छन् ।
यस्ता महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने पदमा वर्षौं निमित्तहरुले चलाउने अवस्थाले सुशासन खस्किने विज्ञहरु बताउँछन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार धेरै स्थानीय तह लगातार धेरै महिनादेखि निमित्तकै भरमा चलिरहेका छन् ।