Search
Close this search box.
Search
Close this search box.

निर्मला पन्त सम्झाउने बैतडी हत्याकाण्ड

काठमाडौं – बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार पछि हत्या घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी दायरमा ल्याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले माग गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका दुईजना अध्यक्ष र नेपाली कांग्रेसका सभापति समेतले बैतडकी १७ वर्षीया किशोरीको बलात्कार पछि हत्या घटनामा संलग्नलाई पक्राउ गरी तत्काल कानूनी दायरमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–७ चडेपानी कतोला घर भएकी १७ वर्षीया भागरथी भट्टको बिहीबार राति बलात्कार पछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो । बुधबार माघ २१ गते बिद्यालय गएकी भट्ट विद्यालयबाट घर नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । खोजीका क्रममा बिहीबार राति घरभन्दा तीन किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा विभत्स रुपमा बलात्कार पछि हत्या गरिएको अवस्थामा भागरथीको शव फेला परेको थियो ।

नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले विद्यालयबाट घर फर्किँदै गरेको बेला भागरथीमाथि भएको ‘पाशविक र अमानवीय कुकृत्य’को घोर भत्र्सना समेत गरेका छन् । प्रचण्ड र नेपालले शनिबार एक शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘डेढ वर्ष अगाडि कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई प्रमाणित गरेको छ ।’

निर्मला पन्तको अनुसन्धानमा जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न आग्रह गर्दैै प्रचण्ड र नेपालले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार पछि हत्या गरिएको घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोशीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । ‘१७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु,’ कांग्रेस सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, ‘उक्त घटनाको विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

मृतक किशोरीका दाइ नाता पर्ने स्थानीय शिवराज भट्टका अनुसार बैतडीको खोचलेक–चडेपानी कच्ची सडकको लवलेकको बीच जंगलमा सडक आसपासमा बलात्कार गरेपछि, घिसारेर सडकदेखि ५०–६० मिटर तल झाडिमा शव फालिएको फेला परेको थियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा भागरथीको बलात्कार पछि हत्या भएको देखिएको छ । भागरथीको शव इलाका प्रहरी कार्यालय खोचलेक र उनी अध्ययनरत विद्यालय ९सनातन धर्म मावि०देखि झण्डै दुई किलोमिटरको दुरीमा घाँटी निमोठिएको, हातमा घारिलो हतियार प्रयोग भएको र बलात्कार गरी आधा शरीर निवस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको जस्तै निर्मम र विभत्स तरिकाले बलात्कार पछि हत्या भएको अवस्थामा भागरथीको शव फेला परेपछि बिहीबार राति नै बैतडीका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद अधिकारी घटनास्थल पुगेका थिए । किशोरीको हत्या भएको थाहा पाएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली पनि शुक्रबार विहान घटनास्थल पुगेको थियो ।

घटनास्थल जिल्ला सदरमुकाम गोठलापानीबाट मोटरमा झण्डै डेढ घण्टामा पुगिन्छ । घटनास्थल पुगेर फर्किएका प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको बलात्कार पछि हत्या भएको अनुमान गरिएको बताए ।

प्रहरीका अनुसार घटनास्थलमा ब्याट्री झिकेर फालिएको अवस्थामा मोबाइल समेत फेला परेको थियो । प्रहरीले मोबाइलका सूचना केलाएर त्यसआधारमा समेत अनुसन्धान अगाडि बढाइएको जनाएको छ । किशोरीको बलात्कारपछि हत्या भएको खबर पाएपछि, प्रदेश सरकारको तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी जनक पाण्डेसहितको टोली शुक्रबार घटनास्थल गएको थियो । धनगढीबाट तालिम प्राप्त कुकुर पनि घटनास्थल लगिएका जनाइएको छ ।

बलात्कार पछि हत्या गरिएकी किशोरीका बुवाको एक महिना अगाडि मात्रै उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो । केही दिन अगाडि मात्रै उनका दाइ बुवाको किरिया सकेर रोजगारीका लागि भारत गएका थिए । ‘घरमा एक्लै आमा भएको भन्दै अभिभावकबिहीन भएको मौका छोपेर बलात्कार भएको हुनसक्छ,’ आफन्त शिवराज भट्टले भने ।

सुदूरपश्चिम प्रदेशकै कञ्चनपुरमा डेढ वर्ष अगाडि ९२०७५ साउनमा० १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । १० साउन २०७५ मा कञ्चनपुर सदरमुकाम महेन्द्र बजार नजिकको एक उखुबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । नेपालमा भएको एक दर्दनाक हत्याकाण्डको रुपमा अन्तर्राष्ट्रियस्तरमा नै चर्चाको विषय बनेको निर्मला पन्तको बलात्कार पछि हत्या घटनामा संलग्नहरु अझै पनि पत्ता लाग्न सकेका छैनन् ।

निर्मलाको जस्तै बैतडीमा पनि १७ वर्षीया भागरथीको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइसकेको जनाए पनि हत्यामा संलग्नहरु भने पक्राउ परेका छैनन् । बुधबार बेपत्ता भएकी भागरथीको बलात्कार पछि हत्यामा संलग्नहरु शनिबार समेत पक्राउ परेका छैनन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी उत्तम सुवेदीले बैतडीमा बलात्कार पछि किशोरीको हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिइएको बताए । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी पाण्डेको नेृत्वमा, सीआइबीसहितको अनुसन्धान टोली शुक्रबार नै बैतडी पठाइएको उल्लेख गर्दै डीर्आजी सुवेदी भन्छन्, ‘तालिम प्राप्त कुकुरको टोली घटनास्थल पुगिसकेको छ । सिआइबी र टेक्निकल अनुसन्धान टोली पनि बैतडी पठाइएको छ ।’ घटनाका विषयमा प्राविधिक अनुसन्धान शुरु भइसकेको बताउने डीआईजी सुवेदी संलग्नहरु छिट्टै कानूनी दायरमा आउने बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *