Search
Close this search box.
Search
Close this search box.

नेपाली चियामा एकपछि अर्को उपलब्धि

इलाम। चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ।

प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको संकेतका रूपमा हेरिएको छ।

कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ।

तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो। लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगी भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुसी देखिएका छन्।

नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो। लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन( ईयू)मा दर्ता गरियो। 

भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर बजार पुग्ने भएको छ। “लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ”, केन्द्रीय चिया सहकारी संघका महासचिव रवीन राईले भने। उद्योगले आफ्नै उद्योगको लोगो लगाएर अन्तर्राष्ट्रिय बजारमा चिया पठाउँथे।

अर्थोडक्स चियालाई एउटै लोगो लगाएर पठाउन उद्योगीकै अगुवाइमा व्यापार चिह्न बनाइयो। अहिले लोगो स्वीकृतिपछि नेपालको चिया विश्व बजारमा चिन्ने चिनिने भएको छ।

“स्वीकृति नै नभएको भए पनि सरकारले उद्योगीलाई दिएपछि बजारमा पठाउन सकिन्थ्यो”, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “सम्बन्धित देशले स्वीकृति दिएपछि चाहिँ लोगो प्रयोग गरेर चिया पठाउँदा बढी प्रभाव पर्छ।”

नेपाली चिया भारत (दार्जिलिङ र कलकत्ता) को चियाभन्दा गुणस्तरीय भएको विज्ञ बताउँछन् तर आफ्नै लोगो नहुँदा केही समयअघिसम्म दार्जिलिङ र कलकत्ताकै चिया भनेर अन्तर्राष्ट्रिय बजारमा चिनिन्थ्यो।

चिया बेच्न भारतकै भर पर्नुपर्दा भारतकै कारण विविध हैरान पनि नेपाली व्यवसायीले खेप्नुपरेकाे थियाे। अब नेपाली चिया स्वायत्त भएको र अन्तर्राष्ट्रिय बजार बढ्ने चिया विज्ञ चन्द्रभूषण बताउँछन्। 

भारत र अमेरिकाले लोगो स्वीकृत गरे पनि हालसम्म युरोपियन युनियनले भने स्वीकृत गरेको छैन। लोगो स्वीकृतिका लागि पठाउँदा युनियनले नेपाल र चियाको लोगो भएको ‘नेपाल टी हिमालयन’का नाममै प्रश्न उठाएको समेत सुनियो।

त्यसैले युनियनबाट तत्काल लोगो स्वीकृति हुने छनक नदेखिएको व्यवसायी बताउँछन् तर यता बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराई भने ईयूले यस्ता प्रश्न सोधेको भन्ने विषय आधिकारिक नभएको बताउँछन्।

“मैले पनि यस्ता कुरा यदाकदा सुन्दै आएको छु तर आधिकारिक छैन”, डा. भट्टराईले भने, “हामी प्रक्रियामै छौँ। दूतावासमार्फत् सम्पर्क गरेर लोगोका विषयमा जानकारी लिएका छौँ। केही समयपछि काम हुन सक्छ।” 

लोगो मात्र होइन केही समयअघि नेपालकै एकमात्र ‘चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र’को शिलान्यास भयो। चियाको इतिहास झल्काउने र सबै उद्योगको चिया परीक्षण गर्ने उद्देश्यले यहाँस्थित सूर्योदय नगरपालिकामा केन्द्र बन्ने भएको हो। लामो रस्साकस्सीपछि बन्न लागेको यो कार्यालयका कारण पनि चिया क्षेत्रमा अर्को आशा पलाएको हो।

केही दिनअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कार्यालयको शिलान्यास गरे।

प्रदेश १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले २३ करोड रूपैयाँ लगानी गर्ने भएको छ। प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने जनाइएको छ।

भवनमा चिया परीक्षण मात्र नभई भवनभित्र चियाको सङ्ग्रहालय, मिटिङ हल, विदेशी पाहुना बस्ने भवनसम्म रहने छ। विदेशी पर्यटक आउँदा चियाको अध्ययन गर्न सहज बनाउन सङ्ग्रहालयसमेत भवनमा रहने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *