Search
Close this search box.
Search
Close this search box.

पहिलो तलबले आमाको चप्पल किन्ने धोको

बैतडी। भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर माध्यमिक तहको अङ्ग्रेजी विषयको स्थायी शिक्षकमा नियुक्त हुनुभएका पदम विश्वकर्माले पहिलो तलब आउनेबित्तिकै आमालाई चप्पल र गुन्यु किन्ने बताउनुभएको छ । 

पदम बुवाको वार्षिकी मनाउन बैतडीबाट मङ्गलबार डोटी पुग्नुभएको छ । उहाँका पिता दिलु कामीको यही मङ्सिर १३ गते वार्षिक पुण्यतिथि रहेको छ । मिर्गौला रोगबाट पीडित पदमका बुवा दिलु कामीको गत वर्ष निधन भएको थियो । 

EPIC

भारतमा चौकीदारी गरेर पढाइ गर्नुभएका दिपायल सिलगढी नगरपालिका–८, डोटीका पदमको पदस्थापन बैतडीको मेलौली नगरपालिका–४, तिताबैस्थित विजयपुर माविमा भएको छ । शिक्षक सेवा पास गरेर विद्यालयमा हाजिर भएर उहाँ बुवाको वार्षिकी मनाउन घर जानुभएको हो । घर पुग्दा बुवाको तस्बिर छातीमा टाँसेर पदमले आमा, दुई जना भाइ, श्रीमती र दुई छोरासँग सामूहिक तस्बिर खिच्नुभएको छ । 

आमाको खुट्टा र आँगनको माटोलाई ढोगेर उहाँले परिवारसँग सुख साटेको बताउनुभयो । घर पुग्दा बुवाको अभाव खट्किएको बताउनुभयो । शिक्षक सेवा आयोगको तयारी गरिरहेकै बेला बुवाको निधनले विक्षिप्त बने पनि बुवाको हौसला टुट्न नदिएको पदमले बताउनुभयो । मजदुरी गर्दै उपचार गराइरहनुभएका बुवाको मिर्गौला फेर्न नसकेपछि घर फर्काएर ल्याउँदै गर्दा गत वर्ष बिच बाटोमै निधन भएको उहाँले बताउनुभयो । 

गरिबीले खान लगाउन नपाएपछि उहाँका बुवा दिलु कामीसँगै पदम पनि २०६२ सालमा सुदूरपश्चिमबाट भारतको मुम्बै जानुभएको थियो । पदम त्यतिबेला नौ वर्षका थिए । बुवासँगै होटेलमा भाँडा माज्ने काममा लाग्नुभएका पदमले बुवाको प्रेरणाले त्यहाँ कक्षा ४ देखि १२ सम्म पढ्ने मौका पाउनुभयो । त्यसपछि स्वदेश फर्केर डोटी बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी मूल विषय लिएर पदम बिएड उत्तीर्ण गरेर शिक्षक सेवा आयोगबाट मावि स्थायी शिक्षक बन्न सफल हुनुभएको छ । 

पदम विश्वकर्मा अरूका लागि पनि प्रेरणाको स्रोत भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । उहाँले, शिक्षा आर्जन गर्ने चाहना भए जस्तोसुकै परिस्थितिले पनि रोक्न नसक्ने पदम एक उदाहरण बनेको बताउनुभयो । 

घरको आर्थिक अवस्था कमजोर भएकै कारण पदमका दुई जना भाइ दशरथ विश्वकर्मा र अशोक विश्वकर्माले अध्ययन गर्न सकेनन् । उहाँका दुवै भाइ कक्षा ७ र ८ को बिचमै पढाइ छाडेर भारत गएका थिए ।  दुई जना भाइको कमाइले पनि बुवाको उपचार सम्भव नभएपछि घर फर्काउनु परेको पदमले पीडा सुनाउनुभयो । बुवाको वार्षिकी मनाउन भाइहरू पनि मुम्बईबाट घर फर्किएको उहाँले बताउनुभयो । 

वार्षिकी मनाएर दुई छोरालाई आफूसँगै बैतडी लगेर पढाउने धोको रहेको पदमले सुनाउनुभयो । भाइहरूले विवाह गर्ने तयारी गरेकाले आमाको हेरचाह हुने भएकाले बालबच्चालाई साथमै राखेर पठाउने योजना रहेको उहाँले बताउनुभयो ।   

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *