Search
Close this search box.
Search
Close this search box.

पाँच महिनापछि हल्दीबारी गाउँपालिकाकोे विवाद समाधान

झापा । हल्दीबारी गाउँपालिकाको सातौं गाउँसभाको विवाद आज समाधान भएको छ ।


गाउँपालिकाको सभाहलमा आयोजित विशेष सभाको बैठकले सातौं गाउँसभा अधिवेशनको पहिलो बैठक (असार(१०) र दोस्रो बैठक (साउन–२६) बाट पारित बजेट, नीति तथा कार्यक्रम र सोसँग सम्बन्धित आर्थिक ऐन,२०७७ र विनियोजन ऐन,२०७७ सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गर्दै हल्दीबारी गाउँपालिकामा विद्यमान विवादको समाधान गरेको हो ।

गत असार–१० गते आयोजित सातौं गाउँसभाको पहिलो बैठकमा जलथल जंगल र आवादी सीमानाको सडक नामाकरणको विषयलाई लिएर जनप्रतिनिधिहरुको बीचमा विवाद भएको थियोे । उक्त विवाद पश्चात् गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन लगायत राप्रपा र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँसभा बहिस्कार गरेका थिए भने नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरुले गाउँपालिकाको सभाहल तोडफोड समेत गरेका थिए । तोडफोड पश्चात् उपाध्यक्ष डम्बर गिरी लगायत नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रकृया बमोजिम बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पारित गर्दै सभाहल तोडफोड गर्ने व्यक्तिहरुका विरुद्ध सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णय समेत गर्दै बैठक सम्पन्न गरेका थिए । त्यस पश्चात् हल्दीबारीमा विवाद चुलिएको थियोे ।

विवाद समाधानका लागि दुवै पक्षका जिल्ला स्तरीय नेतृत्व सहित पटक–पटक छलफल भएता पनि जनप्रतिनिधिहरुको बीचमा कुनै सहमति हुन सकेको थिएन । श्रावण–२६ गते विवाद समाधान गर्ने हिसाबले आयोजना गरिएको सातौं गाउँसभाको दोस्रो बैठकमा सबै जनप्रतिनिधिहरु सभाहलमा उपस्थित भए पनि बैठकको गणपुरक संख्या नपुगेको भन्दै अध्यक्ष लिङ्देनले सभा स्थगन गरेका थिए । त्यस पश्चात् गाउँपालिका उपाध्यक्ष लगायत नेकपा र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले विभिन्न ३४ वटा नीतिगत निर्णयहरु पारित गर्दै सभाबाट पारित आर्थिक ऐन र विनियोजन ऐन प्रमाणिकरणका लागि सभाध्यक्षको हैसियतले गाउँपालिकाका उपाध्यक्षलाई जिम्मेवारी सुम्पेको थियोे भने बजेट खर्च गर्ने अख्तियारी समेत सभाबाटै प्रमुख प्रशासकीय अधिकृतलाई दिंदै सातौं गाउँसभाको समेत समापन गरेको थियोे ।

सभा सम्पन्न भए पश्चात् गाउँपालिकाको राजश्व संकलन गर्ने देखि लिएर खर्च गर्नेसम्मका कामकाजहरु नियमित रुपमा संचालन हुँदै आइरहेको थियोे । गाउँपालिकाका अध्यक्षले पटक–पटक अनुरोध गरि सातौं गाउँ सभाबाट पारित बजेट, नीति तथा कार्यक्रम, आर्थिक ऐन र विनियोजन ऐन लगायत अन्य निर्णयहरु आफूले स्वीकार गर्ने भएकोले सातौं गाउँ सभाको तेस्रो बैठक बस्न अनुरोध गरेका थिए । उनले केही जनप्रतिनिधिहरुसँग समन्वय गरि कार्तिक–२४ गते सातौं गाउँ सभाको तेस्रो बैठक आह्वान समेत गरेका थिए । तर, उक्त बैठकमा कोही पनि जनप्रतिनिधिहरु सहभागी भएनन् । त्यस पश्चात् बोलाइएको गाउँ कार्यपालिकाको बैठकले आज विहानको लागि विशेष सभा आयोजना गर्ने निर्णय गरेको थियोे भने सभामा पेश गर्ने कार्यसूचीको विषयमा समेत टुंगो लगाएको थियोे । सोही बमोजिम विवाद समाधानका लागि कार्तिक–२७ गते विशेष सभाको आयोजना गरिएको थियोे ।

पाँच महिनापछि हल्दीबारी गाउँपालिकाको सातौं गाउँसभाको विवाद सकिएको छ । उपाध्यक्ष डम्बर बहादुर गिरीको अध्यक्षतामा बसेको गाउँसभाको बैठकले गरेका निर्णयहरु गाउँपालिकाका अध्यक्ष लिङ्देनले स्वीकार गरेका छन् । यसका साथै उनले जलथल जंगल र आवादी सीमानाको सडकलाई द्रोणचार्य पर्यटकीय सडक नामाकरण गर्ने निर्णयलाई समेत अनुमोदन गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *