काठमाडौंसहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाले सडकमार्ग मात्रै होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान पनि प्रभावित भएका छन् ।
शुक्रबार बिहानलाई तय भएका धेरैजसो उडान प्रतिकूल मौसमका कारण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आज बिहानलाई तय भएका चारवटा माउन्टेन फ्लाइट रद्द भएका छन् ।
यसैगरी बिहान उड्ने तय भएका ६ वटा उडान डिले भएका छन् । विमानस्थल कार्यालयका अनुसार सिमरा, विराटनगर र रेसुङगा उड्ने उडान प्रतिकूल मौसमका कारण डिले भएका हुन् । यस्तै, लुक्लाका लागि तय भएका तीनवटा उडान पनि डिले भएका छन् ।
आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमित रहेको कार्यालयले जनाएको छ ।
नियमित उडान डिले भएपछि यात्रुहरू विमानस्थलमै रोकिएका छन् ।
मौसमका कारण राति र हिजोका केही उडान पनि प्रभावित भएका थिए ।