काठमाण्डौ । संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुने ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुन त्यसतर्फ गएका प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न कतारको राजधानी दोहा पुगेका छन् ।
नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा शुक्रबार बिहान काठमाडौंबाट कतार एयरको विमानमा त्यसतर्फ प्रस्थान गरेका थिए ।
विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गरेका थिए ।
देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न बेलायतको राजधानी लण्डनका लागि प्रस्थान गर्नेछ । उनी शनिबार र आइतबार लण्डनमा रहनेछन् ।