पर्सा । पर्सा प्रहरीले भारतबाट अवैध ढंगले चोरी तस्करी गरेर भित्र्याइएको १० लाख मूल्य बराबरको सात सय १२ बोरा युरिया मल बरामद गरेको छ ।
तस्करले भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो ।
पर्सा जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढंगले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापा मर्दा सो मल बरामद भएको बताए ।
प्रहरीले मल भण्डारण कार्यमा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका वडा नं ९ का ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।
बरामद मल भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । जंगली हात्तीको दारासहित तीन पक्राउ पर्सा प्रहरीले जंगली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ ।
प्रहरीले पर्साको ठोरी गाउँपालिका-४ गोरखपुर टोलमा २१-२१ किलोग्राम तौल भएको दुईवटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार नै समातेको हो ।
प्रहरी नायब उपरीक्षक भारतीले जंगली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताए ।
‘अधियुक्तहरूले ठोरी गाउँपालिका-४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१-२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्री वितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्’ उनले भने ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-४ विजयबस्ती गुम्बालाइनका कुइसंग लामा, वीरगञ्ज महानगरपालिका-१४ का प्रेम शर्मा र महानगर वडा नं २१ का अमिरीलाल महतो रहेका छन् ।