सुरुङ्गा । इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रविणकुमार भट्टराईलाई सम्मानसहित विदाइ गरिएको छ ।
लागूऔषध नियन्त्रणका क्षेत्रमा सक्रिय काम गरेको भन्दै उनलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटीसहित वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीले सम्मानसहित विदाइ गरेका थिए । कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखको नेतृत्व सम्हालेपछि भट्टराईले २८ जनालाई लागूऔषधसहित पक्राउ गरेका थिए भने विभिन्न अपराधमा संलग्न रहेर फरार रहेका सात जना पक्राउ परेका थिए ।

चोरीमा संलग्न १२ जना पक्राउ, तीन वटा मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गर्दै कानूनी दायरामा ल्याउन सफल भएको जनाइएको छ । त्यस्तै सोही अवधिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ४५ वटा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेका थिए । कनकाई क्षेत्रमा ट्राफिक सचेतना, लैङ्गिक हिंसाबिरुद्धका कार्यक्रम, लागूऔषध विरुद्ध सचेतना लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताइएको छ ।
कनकाई नगरमा एक कार्यक्रमका बीच भट्टराईलाई सफल कार्यकाल पूरा गरेको भन्दै सम्मानसहित विदाइ गरिएको थियो भने प्रमुखको रुपमा आएका प्रहरी नायव निरीक्षक किरण मोक्तानलाई स्वागत गरेको छ । कार्यक्रममा विदाइ भएर जाने इप्रका सुरुङ्गाका प्रमुख तथा प्रहरी बरिष्ठ नायव निरीक्षक भट्टराईले कनकाई नगरले समन्वय र सहयोग गरेको भन्दै नगरको प्रशंसा गरे ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, ३ का वडाध्यक्ष युवराज चम्लागाई, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, जनप्रतिनिधिहरु, नगरका कर्मचारी अधिकृत सातौं तहकी जमुना कटुवाल, नगरका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल, जनस्वास्थ्य निरीक्षक नारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बीच सुरुङ्गा जेसीजका तर्फबाट बिजय पाठक र कनकाई उद्योग वाणिज्य संघको तर्फबाट महासचिव सरोज सिटौलाले प्रहरी प्रमुखद्वयलाई स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।




















