Search
Close this search box.
Search
Close this search box.

फिदिम नगर कपको उपाधि झापाको पोल्टामा

पाँचथर । पाँचथरको रानीटारमा आयोजित फिदिम नगर कप फुटबल प्रतियोगिताको उपाधि जित्दै झापाको रेड स्टार एफसी बिर्तामोडले इतिहास रचेको छ । झापाले नगर कपको उपाधि तेस्रो पटक जितेर इतिहास रचेको हो । यसअघिका दुई संस्करणमा पनि रेड स्टार नै विजेता बनेको थियो ।

बराजु रङ्गशालामा शनिवार भएको फाइनल खेलमा ताप्लेजुङको कणसिं सोनाम मेमोरियल एफसीलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो । झापाका लागि मिलन राई, रोहण कार्की र सरोज कार्कीले समान १–१ गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा झापाले पहिलो हाफमै ३ गोल गर्न सफल भएको हो । खेलको १८औँ मिनेटमा मिलन राईले पहिलो गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । त्यस्तै, २५औँ मिनेटमा रोहण कार्कीले गोल गर्दै अग्रता दोब्बर बनाए । फाइनल खेलको अन्तिम गोल तथा झापाका लागि तेस्रो गोल कप्तान सरोज कार्कीले ३०औँ मिनेटमा गरेका थिए ।

EPIC


फाइनल खेलको म्यान अफ द म्याच झापाका मिलन राई घोषित हुँदा उत्कृष्ट गोलरक्षक झापाकै राजकुमार लिम्बू भए । वेस्ट डिफेन्डर पनि झापाकै विशाल खवास घोषित भए । ताप्लेजुङका कप्तान अनुप सेन्दाङ वेस्ट प्लेयर घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता चर्च ब्याइजका कप्तान सोम मगर भए । फाइनल खेलको विजेता झापाले नगद १ लाख ५० हजार पाएको छ भने उपविजेता ताप्लेजुङले ८० हजारमा चित्त बुझाएको छ । प्रतियोगिता स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको हो ।


विजेता तथा उपविजेता टिमलाई फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ, ७ नम्बर वडाध्यक्ष गोपालप्रसाद गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रम स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरुङको अध्यक्षता तथा सञ्चालन सहआयोजक रानीटार युनाइटेडका सचिव रूपेन्द्र तामाङले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *