बुद्धशान्ति, माघ १६ – बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। गौरादह नगरपालिका र मेचीनगर नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ७२ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको गौरादहले २१६ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो। गौरादहका लागि सुरज न्यौपानेले ७५ रन र अर्जुन यादवले ३४ रनको योगदान दिए। जवाफमा अर्जुनधारा नगरपालिका १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४३ रन बनाउन सफल भयो।
गौरादहको जितमा ७५ रन बनाउनुका साथै ३ विकेट लिएका सुरज न्यौपाने खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद ३ हजार, मेडल र ट्रफी प्राप्त गरे।
त्यस्तै, चौथो क्वार्टरफाइनल खेलमा मेचीनगर नगरपालिकाले कचनकवल गाउँपालिकालाई ५३ रनले हराउँदै अन्तिम चारमा स्थान बनायो। पहिले ब्याटिङ गरेको मेचीनगरले १६१ रन बनायो। मेचीनगरका लागि अमित श्रेष्ठले ५५ रन र सन्दीप ढुंगानाले ४७ रन बनाए।
१६२ रनको लक्ष्य पछ्याउने क्रममा कचनकवल गाउँपालिका १८ ओभरमै अलआउट हुँदै १०८ रनमै समेटियो। मेचीनगरको जितमा ४७ रन बनाउनुका साथै ३ विकेट लिएका सन्दीप ढुंगाना म्यान अफ द म्याच घोषित भए। उनले नगद ३ हजार, मेडल र ट्रफी प्राप्त गरे।
अब सेमिफाइनल खेलहरू बिहीबार सञ्चालन हुनेछन्। पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिका र गौरादह नगरपालिका भिड्नेछन्, भने दोस्रो खेलमा भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए।