राजविराज। सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ वडाध्यक्ष धीरेन्द्रकुमार साह पुर्पक्षका लागि कारागार चलान भएका छन्। आफ्नै वडाकी युवतीलाई बलात्कार गरेपछि हत्या गरेको र उनका भाइलाई बेपत्ता बनाएको कसुरमा जिल्ला अदालत सप्तरीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
२०८१ मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित साह शपथग्रहण समारोहबाटै मंसिर २० गते पक्राउ परेका थिए।
३ वर्ष पुरानो मुद्दा गत बुधबार जिल्ला अदालत सप्तरीमा दायर भएको थियो। त्यसपछिको निरन्तर सुनुवाइपछि अदालतले सोमबार यस्तो आदेश सुनाएको हो।
वडाध्यक्ष धीरेन्द्रकुमार साहसहित राजनारायण साह, इन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साहविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानको कसुरमा अभियोग पत्र दायर गरिएको छ।
उनीहरूले सोही वडाकी २० वर्षकी सन्तोषीकुमारी साहलाई पटकपटक बलात्कार गरी हत्या गरेको भन्दै उनकी आमा चन्दरदेवी साहले जाहेरी दिएकी थिइन्। चन्दरदेवीकै घरभित्र पटक–पटक जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको आरोप छ।
२०७८ चैत २२ गते सन्तोषीलाई जबरजस्ती करणीपछि हत्या गरेको अभियोग उनीहरूमाथि छ। मृतकको घाँटीमा डाम देखिएको थियो। पोस्टमार्टमबाट पनि मृत्यु स्वाभाविक नभएको रिपोर्ट आएको छ।
इन्द्रनारायण बिहान सन्तोषीको घरबाहिर पुगेर फोनमा ‘छिटो आऊ घरमा कोही पनि छैनन्’ भनेका थिए। लगत्तै मोटरसाइकलमा आएका व्यक्तिहरूले बेहोस अवस्थामा सन्तोषीलाई लिएर गएको स्थानीयले देखेका थिए।
घटनाको समयमा हाल वडाध्यक्ष बनेका धीरेन्द्र पनि सन्तोषीको घरमा पुगेका थिए। त्यतिबेला मृतकका भाइ नितिशकुमार साह पनि घरमै थिए। उनीहरूले नितिशलाई आमालाई बोलाएर आऊ भनी पठाएर बलात्कार गरेको आरोप छ। भाइलाइ पठाएर बेहोस अवस्थाकी दिदीलाई मोटरसाइकलमा राखी उनीहरू भागेका थिए।
धीरेन्द्रले सन्तोषीको विवाह आफूसँग गराइदिन धम्की दिँदै आएका थिए। तर उनकी आमाले छोरीको विवाह नेपालमा नगर्ने बताएकी थिइन्।
यो घटनामा २०८१ जेठमा शिवकुमार र इन्द्रनारायणलाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर जेठ २१ गते उनीहरूलाई जिम्मा जमानीमा रिहा गरियो। अहिले रिहा भएका दुवै जना र जिम्मा जमानीमा बस्ने व्यक्ति पनि फेला नपरेको प्रहरीको दाबी छ।
दिदी सन्तोषीको बलात्कारपछि भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप पनि वडाध्यक्ष धीरेन्द्रकुमारसहितका प्रतिवादीहरूलाई लगाइएको छ। दिदीको हत्या भएको एक वर्षपछि भाइ नितिश पनि बेपत्ता भएका थिए।
२०७९ फागुन १७ गते दिउँसो २ बजे माधोपुर टोलस्थित आँपबगैँचाबाट १३ वर्षका नितिशकुमार साहलाई अपहरणमा पारेको आरोप छ।
छोरी सन्तोषीकुमारी साहलाई बलात्कारपछि हत्या गरेको र उक्त घटना देखेकाले नितिशलाई पनि अपहरण गरी बेपत्ता बनाएको आमा चन्दरदेवी साहको दाबी छ।
धीरेन्द्रले भने बलात्कार, हत्या र अपहरणको घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।