काठमाडौँ– अछाममा बाख्रा चराउन गएका २ किशोरी जंगलमै मृत फेला परेका छन्। ढकारी गाउँपालिका–१ मा फुपुभदैको शव फेला परेको छ।
ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरीका अनुसार उनीहरु नातामा फुपूभदै हुन।
शुक्रबार बिहान बाख्रा चराउन जंगल गएका उनीहरु बेलुकासम्म घर नफर्किपछि खोजतलास सुरु भएको थियो। शनिबार बेलुका ढकारी गाउँपालिका–१ स्थित सिस्ने ओढारमा उनीहरुको शव फेला परेको हो।
इन्स्पेक्टर टेकबहादुर देउवाका अनुसार घट्नाको बारेमा प्रहरीले शनिवार बेलुका खबर पाएको हो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। उनीहरुको मृत्युको कारण खुलेको छैन।