बाह्रदशी। नेपालीहरूको महान् चाड शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर झापाको बाह्रदशी गाउँपालिकामा अन्तरपार्टी मैत्रीपूर्ण भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाह्रदशी गाउँ कमिटीको आयोजनामा आगामी कार्तिक २१ गते शनिबार बिहान १० बजेदेखि राजगढस्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा एकदिने प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियगितामार्फत विभिन्न राजनीतिक दलबीच आपसी सद्भाव, सहकार्य र मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्य राखिएको नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रतियोगितामा बाह्रदशीमा क्रियाशील राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टी गरी छ राजनीतिक दलका टोलीबीच प्रतिस्पर्धा हुनेछ।प्रतियोगितामा ३५ देखि ४० वर्ष उमेर समूहका दुई जना, ४० देखि ५० वर्ष उमेर समूहका चार जना र ५० वर्षमाथिका चार जना खेलाडी सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। खेल ९’ए’ साइड हुनेछ र एक अतिरिक्त खेलाडी रहने छन्। खेल १५–१५ मिनेटको हुने र फिफाको नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार खेलाडीहरूले आफू आबद्ध राजनीतिक दलको चुनाव चिह्न अंकित जर्सी लगाउन सक्नेछन्। प्रतियोगिता मैत्रीपूर्ण प्रकृतिको भएकाले खेलमा पुराना नेता तथा कार्यकर्तालाई प्राथमिकता दिन आग्रह गरिएको छ। खेलाडीहरू पार्टीको जुनसुकै भूगोल तथा जिम्मेवारीमा रहे पनि सहभागी हुन सक्नेछन्।
प्रतियोगिताको टाइसिट निर्धारणका लागि कार्तिक १८ गते बुधबार अपराह्न ४ बजे राजगढस्थित मिनी क्याफेमा गोलाप्रथा कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो।
राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सम्बन्धित राजनीतिक दलका केन्द्रीय, जिल्ला तथा पालिका तहका नेता–कार्यकर्तालाई उत्साहजनक सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ।



















