बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नं. ५ को जात्रुबारी क्षेत्रमा नवजात शिशुको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार, शिशु आज दिउँसो करिब २:३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडक छेउमा मृत अवस्थामा फेला परेको हो।
प्रहरीका डीएसपी प्रकाश विष्टले शव घोप्टो अवस्थामा रहेको र गर्भमा करिब ३-४ महिनाको जस्तो देखिने शिशु भएको बताए। घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको छ।
करिब एक महिनाअघि पनि सोही क्षेत्रमा यस्तै प्रकृतिको घटना भएको थियो। त्यतिबेला पनि नवजात शिशुको शव फेला परेको थियो। यस्ता घटनाहरूले स्थानिय बासिन्दामा चिन्ता र त्रास फैलाएको छ। घटनाको सम्बन्धमा विस्तृत अध्ययन र जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न प्रहरीलाई सहयोग गर्न स्थानियले आग्रह गरेका छन्।