Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडमा सुविधासम्पन्न सद्गुरु श्री देवचन्द्र अतिथि सदन बन्ने

विर्तामोड । प्रणामी समुदायको अग्रसरतामा झापामा सामाजिक सेवा–कार्यको उद्देश्यका साथ शुरु गरिएको सुविधासम्पन्न सद्गुरु श्री देवचन्द्र सदनको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।

विर्तामोडको नमूनाकै रुपमा अघि बढाइएको बृहद परियोजना बारे जानकारी दिन श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल विर्तामोड इकाई समितिले सोमबार परियोजना निर्माण स्थल अर्जुनधारा–६ मा आयोजना गरेको पत्रकार सम्मेलनमा अतिथि सदनको निर्माण कार्यलाई तीव्रता दिइएको बताइएको छ ।

विर्तामोडको महानन्दचोकदेखि लगभग ५ सय मिटर पश्चिम–दक्षिणमा १० कट्ठा ८ धुर जमिनमा फैलिएको परियोजनाभित्र जिल्लाकै नमूनाको रुपमा एउटा सुन्दर प्रणामी मन्दिर, पाँचतले सुविधासम्पन्न अतिथि सदन, चारतले बाइजुराज भवन, सद्गुरु

स्तम्भ, कलात्मक प्रवेशद्वार, धार्मिक प्रतिमा–झाँकीहरु, अन्य आवश्यकीय भवन, हरित–बाटिकालगायत पर्याप्त पार्किङस्थल निर्माण हुने निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाईंले जानकारी दिए ।

‘यो परियोजना प्रणामी समुदायको मात्र नभई, सबै वर्ग–समुदायले अपनत्व गर्ने गरी अघि बढाइएको छ’, अध्यक्ष बजगाईंले भने– ‘पर्यटकीय दृष्टिकोणले समेत हामीले महत्व दिई यसलाई अत्यन्त आकर्षक बनाउने प्रयत्न गरेका छौं ।’ हाल अतिथि सदनको निर्माण कार्य धमाधम भइरहेको छ भने अन्य संरचना निर्माणका लागि कामहरु भइरहेको उनले बताए ।

हालसम्म संस्थामा आबद्ध व्यक्तित्वहरुबाट नै सहयोग संकलन भइरहेको छ भने सो परियोजनाका लागि सहयोग गर्न सबै क्षेत्रबाट आकांक्षाहरु प्रकट भइरहेको र त्यसले निर्माण समितिलाई थप हौस्याएको निर्माण समितिका महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिए । उनले सहयोगदाताहरुको उचित सम्मान गरिने पनि बताए ।

जिल्लाका विभिन्न स्थानमा मन्दिरहरु स्थापना भइसकेको परिप्रेक्ष्यमा जनघनत्व पनि बढ्दै गएको व्यापारिक नगर विर्तामोडमा पनि मन्दिरको आवश्यकता महसूस हुँदा विर्तामोड निवासी दानवीर विष्णुप्रसाद शर्माले पहिलो पटक १ कट्ठा जग्गा दान गरेपछि त्यहाँ मन्दिर स्थापना मात्र नभई यसलाई परियोजनाकै रुपमा अघि बढाइएको जानकारी दिँदै सचिव थपलियाले पुनः दानवीर शर्माले नै २ कट्ठा जग्गा थपिदिएको र दाताहरुको सहयोगमा अरु आवश्यक जग्गा खरिद गरिएको बताए ।

परियोजना सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको र ती समितिले सक्रिय रुपमा काम गर्दै आएको निर्माण समितिका सचिव टहलदास ओलीले जानकारी दिए । उनले यो जिल्लाकै उत्कृष्ट गहनाको रुपमा रहने बताउँदै निर्माण समितिका अध्यक्ष बजगाईंले स्थानीय तह, प्रदेश तथा संघीय सरकारलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।

परियोजना सम्पन्न गर्न ३२ करोड खर्च हुने अनुमान गरिएको छ । दुई वर्षअघि २०७५ मंसिर २८ गते श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगतगुरु आचार्य श्री कृष्णमणिजी महाराजले परियोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको पाँच वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

इकाई समिति अध्यक्ष हरिप्रसाद कडरियाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष पदमप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत भवन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाईले

गरेका थिए भने कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद प्रदेश १ का संयोजक अनिल ढुङ्गाना, श्रीकृष्ण प्रणामी सेवा परिषद झापाका अध्यक्ष मिलन वस्नेत, बाइजुराज महिला समिति अध्यक्ष बिनाकुमारी डाँगीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन परियोजनाका महासचिव शारदाप्रसाद थपलियाले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *