झापा । बिर्तामोडमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब ३ः२० बजे बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।दुर्घटनामा बुद्धशान्ति गाउँपालिका–१, होक्से छेउका ३३ वर्षीय इन्द्रमणि अर्याल गम्भीर घाइते भएका थिए। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा दिउँसो ४ः१८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।दुर्घटनामा संलग्न बस तथा चालक विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गंगा श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















