बुद्धशान्ति (पालिका सन्देश) । आकस्मिक उपचारका क्रममा रगतको अभावले बिरामी र परिवारले भोग्नुपर्ने सास्ती अन्त्य गर्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको छ । यस सम्झौतापछि गाउँपालिकाभित्रका स्थायी बासिन्दाले आवश्यक प्रमाणका आधारमा भद्रपुर र बिर्तामोडस्थित रेडक्रस रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत प्राप्त गर्न सक्ने भएका छन् ।
सम्झौताअनुसार बुद्धशान्ति गाउँपालिकाका स्थायी बासिन्दाले नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गरेपछि नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवामार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बुधबारे रेडक्रस शाखाका सभापति पुष्पराज भट्टराईले बताएका छन् । उनका अनुसार यसबाट दुर्घटना, सुत्केरी, शल्यक्रिया तथा अन्य आकस्मिक स्वास्थ्य समस्यामा रगत आवश्यक पर्ने नागरिकले तत्काल राहत पाउने अपेक्षा गरिएको बताए ।

सम्झौतामा भद्रपुर र बिर्तामोड रक्तसञ्चार केन्द्रमा उपलब्ध रक्तसमूहको रगत निःशुल्क उपलब्ध गराइने उल्लेख छ । यदि आवश्यक रक्तसमूह उपलब्ध नभएमा वा दुर्लभ रक्तसमूह आवश्यक परे बिरामी वा आफन्तले रक्तदाता व्यबस्थापन गर्नुपर्नेछ । यद्यपि, रक्तसञ्चार केन्द्रले रक्तदाता खोज्ने तथा आवश्यक सहजीकरण गर्ने जिम्मेवारी पनि लिएको छ ।
यस कार्यक्रम सञ्चालनका लागि बुद्धशान्ति गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको रक्तसञ्चार सेवा खातामा ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । सोही रकम बराबरको करिब ४५४ युनिट रगत गाउँपालिकाका नागरिकलाई उपलब्ध गराइने व्यबस्था गरिएको छ । रक्तसञ्चार सेवाले प्रत्येक युनिट रगतको विवरणसहित गाउँपालिकालाई नियमित प्रतिवेदन उपलब्ध गराउने समेत सम्झौतामा उल्लेख गरिएको छ ।
रगत लिएपछि आवश्यक नपरेमा क्रसम्याच शुल्क भने बिरामी पक्षले नै व्यहोर्नुपर्ने व्यबस्था गरिएको छ । साथै, गाउँपालिकाले निःशुल्क रगत सम्बन्धी जानकारी नागरिकसम्म पुग्ने गरी सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्झौता आर्थिक वर्ष २०८३÷८४ का लागि लागू हुनेछ । सेवा प्रभावकारी बनाउन गाउँपालिका र रेडक्रसबीच संयुक्त अनुगमन गरिने तथा आवश्यक परे आपसी सहमतिमा सम्झौताका प्रावधान परिमार्जन गर्न सकिने व्यबस्था गरिएको छ । सम्झौतापत्रमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकालले हस्ताक्षर गरेका छन् ।



















