बुधबारे । बुद्धशान्ति क्षेत्रकै ऐतिहासिक गुम्बा ‘ङ्गिजे वाङछ्यू जिक्तेन बौद्ध गुम्बा’मा सोनाम ल्होक्षार (नयाँ वर्ष) पर्व मनाइयो । मञ्जुश्री सम्वत् २८५८औँ को अवसरमा ‘ताक ल्हो (बाघ वर्ष)’लाई स्वागत गर्दै लामा गुरुहरुद्वारा पूजापाठ गरि बुद्धशान्ति—३ बुधबारे बजार स्थित बौद्ध गुम्बामा भक्तजनहरुबीच सोनाम ल्होक्षार मनाइएको गुम्बा समितिका अध्यक्ष धन प्रसाद मोक्तानले बताएका छन् ।
नेपालमा तीन पटक ल्होक्षार मनाइने गरिएको पाइन्छ । गुरुङ समुदायले पौष १५ मा तमु ल्होक्षार, शेर्पा समुदायले फाल्गुन शुक्लप्रतिपदामा ग्याल्पो ल्होक्षार र तामाङ समुदायले माघ शुक्लप्रतिपदामा सोनाम ल्होक्षार मनाउँदछन् । अन्य बौद्धमार्गीहरुले पनि सम्बन्धित समुदायसँगै ल्होक्षार मनाउने गर्दछन् ।

ल्होक्षार पर्वमा नेपाल सरकारले सार्जजनिक बिदा दिने गरेको छ । पर्वमा बिदा दिँदा ल्होक्षार पर्व मनाउने समुदायहरु, नेपाल सरकार तथा स्थानीय सरकारहरुले आफ्ना चाडपर्व अर्थात पहिचानलाई मान्यता दिइ सम्मान जनाएकामा अत्यन्त खुशी भएका पाइन्छन् । ल्होक्षारमा खासगरि सम्बन्धित परिवार, समुदाय, समस्त मानव, चराचर तथा बनस्पति जगत, पृथ्वी, सौर्य मण्डल, ब्रह्माण्ड र सम्पूर्ण श्रृष्टीप्रति शान्ति तथा मांगलिक कामना गरिन्छ ।

वातावरण स्वच्छताका लागि थुप्रै प्राकृतिक तत्व मिश्रित धुप बालेर धुपधुवाँर गरिन्छन् । जसले रोगब्यधीसमेत हटेर जाने विश्वास गरिन्छ । स्थानीय रुपमै पाइने मौलिक, सन्तुलित तथा पौष्टिक खाना खाइन्छन् । शान्ति, सद्भावको सन्देश प्रवाहका लागि लुङ्दर, दाज्र्यू (मन्त्रयुक्त ध्वजापताका) टाँगिन्छन् ।
विज्ञान सम्वत यो पर्वमा एकापसमा शुभकामना आदानप्रदान गरिन्छन् । ज्येष्ठहरुलाई ढोगभेट गरि आशिर्वाद लिने, चेलिबेटीहरुलाई निम्तो गरि, घरपरिवार घेटघाटभई पूजापाठ गरि सुखसमृद्धि, धनधान्य, खेतीपातीमा सहकाल आदिका लागि कामना गरि सपरिवार हँसीखुशीका साथ सँगै खाना खाने गरिन्छ ।

सद्भावका लागि सबै समुदायलाई निम्ता गरि सामाजिक रुपमा पनि साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम गरि खुशीयालीसाथ नयाँ वर्ष ल्होक्षार मनाइन्छ ।