बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय झापा तथा गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत यस्तो सूचना प्रकाशित गरेको जनाएको छ। सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र वन क्षेत्र, नदी उकास जमिन, विद्यालय, मन्दिर तथा अन्य सार्वजनिक एवं सरकारी स्वामित्वका जग्गा कुनै पनि प्रयोजनमा अतिक्रमण गरिएको भए त्यसको विवरण संकलन गरिनेछ।

गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्ति, संघ संस्था, नागरिक समाज, पत्रकार, पेशाकर्मी तथा स्थानीयवासीलाई लिखित रूपमा जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।
सूचनामा अतिक्रमण भएको स्थान, जग्गाको किसिम, अनुमानित क्षेत्रफल, संरचना निर्माण भएको वा खाली रहेको अवस्था, अतिक्रमण भएको अवधि लगायतका विवरण खुलाउन भनिएको छ। साथै अतिक्रमणमा संलग्न व्यक्ति वा संस्थाको तीन पुस्तेसम्मको विवरण समेत माग गरिएको छ।
त्यस्तै, आफू वा आफ्नो संस्थाले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेको भए स्वघोषणा गर्न सकिने व्यवस्था पनि सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले प्राप्त विवरण जिल्ला प्रशासन कार्यालय झापामा पठाइने जनाएको छ भने सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न सबैसँग अनुरोध गरेको छ।



















