बुद्धशान्ति २ का २८ परिवारले धनीपुर्जा पाएलगत्तै अन्य वडामा पनि जमिन नक्साङ्कनको काम शुरु भएको छ।
मंगलबार वडा नम्बर ४ मा रोङ गाउँपालिका इलामको प्राविधिक सहयोगमा अव्यवस्थित बसोबासी र सुकुम्बासीको हरुको जमिन नापजाँच गर्न शुरु गरिएको हो।
वडा नम्बर ४का सट्टाभर्ना, झोडा, आइतबारे लगायतका अधिकांश स्थानमा ठुलो संख्यामा अव्यवस्थित बसोबासीहरु रहेका छन्।
सो वडामा यस अघि नै निस्सा वितरणको काम सम्पन्न भइसकेको छ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले वडा नम्बर ४मा भूमि सम्बन्धि ठुलो समस्या भएको उल्लेख गर्दै बुद्धशान्तिमा अब सुकुम्बासी भएर कसैले पनि दुख नपाउने बताए।
नापि कार्यको शुरूवात गर्दै रोङ गाउँपालिकाका अध्यक्ष सुबास स्याङ्बोले आफ्नो कार्यकालमा पालिकाका सबै भूमि सम्बन्धि समस्या समाधान गर्ने दावि गरे।
उनले रोङ र बुद्धशान्तिमा उस्तै प्रकृतिका चुनौती भएकाले मिलेर अघि बढ्ने समेत उल्लेख गरे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, सोहि वडाका वडाध्यक्ष शेरबहादुर राय, भूमि आयोगका प्रतिनिधिहरु लगायतको सहभागिता थियो।
वडामा ८ जना अमिन सहित कुल १४ प्राविधिकले नक्साङ्कन गर्ने गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले जानकारी दिए।