जनक न्यौपाने,
कुनै बेला इलाम बासीको आर्थिक जीवनस्तर उकास्न सहयोगी बनेको अदुवा खेती मासिदै गएको छ ।
कुनैबेला अधिकांश किसानहरूका आम्दानीको मुख्य स्रोत रहेको अदुवा खेती ठप्प भएपछि ऊ बेला अदुवाका खेतीमा आवद्ध बूढापाकाहरुमा जिज्ञासा नै बढेको छ अचेल कहाँ पाइन्छ अदुवा भनेर ।
राेङ ६ रम्भ्याङका ७५ वर्षीय सेर बहादुर घिमिरे भन्छन् “आफूले ४० मन सम्म अदुवा राेपेकाे सरदर एक मनको सात आठ मन फल्ने गरेको, राेपेकाे बिउ पनि साउन भदौतिर निकालेर बेच्ने गरेको कुरा अहिले कथा जस्तो लागेको बताउँछन्। “अहिले त चढाउने र मसला खाने सम्म पनि हुँदैन गाउँ भरिनै छैन” उनको भनाई छ ।
यता गाउँमा अदुवाको खेती नै नहुने भएकाले आफू कहाँ अदुवाको कारोबार विगत तिन चार बर्षयता शून्य रहेको हर्कटेका व्यापारी दुर्गा निरौला बताउँछन्। निरौला मात्रै हैन इलाम नगरपालिका ८ सिमफ्रिङका व्यापारी दिनेश अधिकारी भन्छन् “छिटफुट छ तर गाडी नै त कहिले पुग्दैन।” यता राेङ ४ का किसान ठाकुर अर्याल भन्छन् यस वर्ष पञ्चमानले राेपेकाे मरेर सकियो ।
मसला र ओषधिजन्य प्रयोगका लागी भारतमा निर्यात हुने अदुवामा गानो कुहिने लतक्क परेर मर्ने रोगका कारण अदुवा मासिएको हो। किसानले स्थान, बिउ फेरेर राेपे पनि उम्रन साथ अदुवा मर्ने गरेको कारण अहिले इलामका अधिकांश किसानले अदुवा रोप्न छाडेका हुन्।
अहिले इलाममा अदुवा खेतीको अवस्था बारेमा कृषि ज्ञान केन्द्र इलामका कृषि प्रचारप्रसार अधिकृत तथा सूचना अधिकारी रुजन खड्का सग कुरा गर्दा विगतका वर्षहरूमा भन्दा क्रमश घट्दै गएको र अहिले संघीय संरचना अनुसार आफूहरूले पालिका र किसानहरूबाट प्राविधिक सहयाेगकाे माग आएमा दिने गरेको बताउँछन्। किसानहरूले अदुवाको बिउ छनौट, माटेको तैयारी देखिनै उपचारात्मक उपायहरू नगरिदिँदा समस्या आएको बताए।
सूचना अधिकारी खड्काका अनुसार इलाममा आर्थिक वर्ष ७८/७९ मा तिन हजार दुई सय पैँतीस हेक्टर क्षेत्रमा अदुवा रोपन गरि ५१ हजार सातसय साठी मेट्रिकटन अदुवा उत्पादन हुँदा १६ मेट्रिकटन प्रति हेक्टर रआर्थिक वर्ष २०७९/८० मा ३ हजार २ सय २५ हेक्टरमा गरिएको अदुवा खेतीबाट ५० हजार ९ सय ५५ मेट्रिकटन उत्पादन भएको प्रतिहेक्टर उत्पादन १५ दशमलव आठ शून्य हुँदा अघिल्लो बर्षयता शून्य दशमलव तीन प्रतिशत उत्पादकत्व घटेको तथ्याङ्क रहेको बताए ।
कृषि ज्ञान केन्द्रमा खास कार्यक्रम नहुने भएपनि यो वर्ष भने अदुवा उत्पादन प्रबर्द्धन कार्यक्रम रहेको उनको भनाई रहेको छ ।
यता कृषि ज्ञान केन्द्रकाे अदुवा खेती र उत्पादनको राम्रै तथ्यांक रहेपनि अदुवा रोपेर भुक्त भोगी इलामे किसानहरू भने यो तथ्यांक नै गलत रहेको र इलाममा यति खेती उत्पादन नरहेको बताउँछन ।