पालिका सन्देश – कात्तिक १ देखि ३ गतेसम्मको बेमौसमी वर्षाका कारण औद्योगिक क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । उद्योग वाणिज्य संगठन मोरङको अध्ययन प्रवेदनअनुसार बाढीको कारण सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरमा मात्रै २ अर्ब ४७ करोड १८ लाखभन्दा बढीको क्षति भएको छ ।
विवरणअनुसार मेसनरी औजारमा ९८ करोड १७ लाख, तयारी वस्तुमा ७६ करोड ४ लाख, कच्चा मालमा ७१ करोड २५ लाख र सरसफाइ तथा व्यवस्थापन गर्न लाग्ने मूल्य १ करोड ७१ लाख गरी यो क्षति पुगेको हो ।
उद्योग वाणिज्य संगठनमा आबद्ध उद्यमीहरूसँग विवरण माग गरेकोमा ४१ उद्योगको विवरण उपलब्ध भएको संघले जनाएको छ । यी ४१ उद्योगमा पुगेको क्षति विवरण संघले निकालेको हो ।
बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रकृया अवरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्चलगायतका खर्चहरू, उत्पादनको अवसर मूल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठूलो व्ययभार थपिएको संघले जनाएको छ ।
४१ उद्योगको दैनिक प्रशासनिक खर्च करिब ५ करोडको हाराहारीमा रहेको, बाढीबाट प्रभावित उद्योगमध्ये २७ वटा उद्योगहरू एक हप्तासम्म सञ्चालनमा आउन नसकेको, ७ वटा उद्योग अझै २ हप्ता संचालनमा आउन नसक्ने, ३ उद्योगलाई ४ हप्ता र ४ उद्योगलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दा बढी समय लाग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।