बुद्धशान्ति । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयबाट बजेट विनियोजन भई झापा बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा अस्पतालमा खानेपानी तथा सरसफाइ पूर्वाधार सुधार हुने भएको छ।
मन्त्रालयबाट रु. २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटमार्फत अस्पताल परिसरमा आधुनिक खानेपानी धारा प्रणाली, फलैँचाभित्र धारा जडान, तथा शीतल ट्याङ्कीबाट पानी आपूर्ति व्यवस्था विस्तार गरिनेछ।
बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूको सहजताका लागि तातो र चिसो पानी सुविधा जडान गरिने योजना रहेको छ।

यस योजनाले अस्पतालमा आउने सेवाग्राहीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने, सरसफाइ सुधार गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहका अनुसार स्वास्थ्य संस्थामा आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै मन्त्रालयको बजेटमार्फत यो आयोजना अघि बढाइएको हो।



















