देशका अधिकांश स्थानमा वर्षा हुने भएकाेले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । आज बिहान ६ बजे माैसम बुलेटिन जारी गर्दै महाशाखाले केही स्थानमा हल्का तथा मध्यम र केहीमा भारी वर्षाा हुन सक्ने आकलन गरेकाे छ ।
विशेष गरी प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने जारी सूचनामा उल्लेख छ ।
अहिले बिहान पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा वर्षा भइरहेको छ ।
आज दिउँसाे प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जानएकाे छ ।
हाल प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।