दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर नगरपालिका–११ आम्तेकमा व्यक्तिगत घटना दर्ता तथा पञ्जीकरण सम्बन्धी जनचेतनामूलक अभियानलाई तीव्र बनाइएको छ। वडा कार्यालयले नागरिकलाई समयमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका घटना दर्ता गर्न प्रेरित गर्ने उद्देश्यले प्रचार–प्रसार कार्यक्रम सञ्चालन गरेको हो।
वडा अध्यक्ष अशोक राईले व्यक्तिगत घटना दर्ता नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले समयमै पञ्जीकरण गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले समयमै दर्ता गर्दा नागरिकता, सामाजिक सुरक्षा, विद्यालय भर्ना, राहदानी लगायत विभिन्न सरकारी सेवा लिन सहज हुने बताउनुभयो।
अध्यक्ष राईका अनुसार वडा कार्यालयले सूचना प्रवाह, सामाजिक सञ्जाल, स्थानीय सञ्चार माध्यम तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकलाई सचेत बनाउने काम गरिरहेको छ।
“अहिलेसम्म पनि कतिपय नागरिकले समयमै घटना दर्ता नगर्दा विभिन्न सेवा लिन समस्या भोगिरहेका छन्,” अध्यक्ष राईले भन्नुभयो, “त्यसैले सबै नागरिकलाई निर्धारित समयभित्रै घटना दर्ता गर्न अनुरोध गरेका छौं।”
वडाले विशेषगरी दुर्गम बस्तीका नागरिकसम्म सूचना पुर्याउने लक्ष्यसहित अभियान सञ्चालन गरेको जनाएको छ। साथै, आवश्यक परे घरदैलोमार्फत समेत जानकारी दिने तयारी गरिएको वडा कार्यालयले जनाएको छ।

















