कपिलवस्तु। पिलवस्तुको महराजगञ्ज नगरपालिका-९, सिसवामा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरले गुमेको दृष्टि फर्काइदिँदा यहाँका वृद्ध वृद्धा दंग छन्।
आर्थिक अभावले शल्यक्रिया गराउन नसकिरहेका ८४ वर्षीय झिन्कन यादवले गुमेको ज्योति फेरि पाउँदा आफूले नयाँ जीवन पाएको बताए। ‘१० वर्षदेखि आँखा नदेख्दा संसार नै अँध्यारो लागेको थियो। अब भने नयाँ जीवन पाएको अनुभव भइरहेको छ,’ यादवले भने।
यस्तै, महराजगञ्ज नगरपालिका-९ की ७० वर्षीया मुर्ता अहिरले घरमै उपचार सेवा पाउँदा अत्यन्तै खुशी लागेको बताइन्। उनले भने, ‘मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाउँदा खुसीले आँसु रोक्न सकिनँ। गुमेको आँखाको ज्योति फिर्ता पाएपछि बचेको जीवन अझै राम्रोसँग जिउन पाउने भएँ।’
शिविरमा १ सय ५५ जनाको मोतियाबिन्दुको सफल अप्रेसन गरिएको छ। गरिब, विपन्न, एकल, असहाय तथा दैनिक मजदुरी गर्ने नागरिकका आँखा जाँच र शल्यक्रिया गरिएको थियो।
माहोम्मद इस्लामिक विद्यालय, शान्तिनगरमा आयोजित शिविरमा ६ सय ३३ जनाको आँखा जाँच गरिएको थियो। महराजगञ्ज नगरपालिकाको आयोजना, छन्दकाले बाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोग र रुईत फाउन्डेशनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा चस्मा र औषधि समेत निःशुल्क वितरण गरिएको छ।
महराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँका अनुसार वृद्धवृद्धा र विपन्न वर्गलाई लक्षित गरी नगरपालिकाभित्रै निःशुल्क सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो। उनले भने, ‘नगरवासीलाई प्रतिबद्धताअनुसार सेवा दिएका छौं। वृद्धवृद्धाको खुशी देख्दा उनीहरूबाट आशीर्वाद पाएको अनुभव हुन्छ।’
मेयर खाँले विगत २० वर्षदेखि प्रत्येक वर्ष विभिन्न वडामा यस्ता शिविर सञ्चालन गर्दै आएको बताए। शिविरमा पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य, उपमेयर रीता कुमारी कुर्मीले समेत लाभग्राहीहरूसँग खुशी साटासाट गरेका थिए। सांसद आचार्यले शिविरले गरिब र विपन्नलाई ठूलो राहत दिएको उल्लेख गरे।
शिविरमा डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा १७ सदस्यीय टोलीले आँखा जाँच र शल्यक्रिया गरेका थिए। कार्तिक ३० र मंसिर १ गते सञ्चालन भएको शिविरमा लाभग्राहीले आँखाको ज्योति फर्काएपछि आयोजकप्रति आभार व्यक्त गरेका छन्। नागरिक दैनिकबाट